arin enterprises

भक्तपुरमा गथांमुग चःर्‍हे र सापारु औपचारिकतामा सिमित हुने

SamacharDesk – शिवेश शर्मा | २०७७ श्रावण ३, शनिबार

कोभिड १९ महामारीले यहाँका थुप्रै स्थानीय पर्व, परम्पराहरु प्रभावित भएका छन् थुप्रै जात्रापर्वका साथै साँस्कृतिक परम्पराहरु यसपालि रोकिएका छन् । 

भक्तपुरमा यस वर्ष गथांमुगः चःर्‍हेको साथमा सापारु (गाईजात्रा) नहुने भएको छ । भक्तपुर नगरपालिकाले यस वर्ष गथांमुगः चःर्‍हे र सापारु औपचारकितामा सिमित गर्न अपिल गरेको छ ।

भक्तपुर नगरपालिकाले सूचना जारी गर्दै श्रावण ४ गते पर्न आएको गथांमुगः चःर्‍हेमा चोकचोकमा गथांमुगः नबनाउन आग्रह गरेको छ ।

काठमाडौं उपत्यकाको  नेवार समाजमा श्रावण कृष्ण चतुर्दशीका दिन पराल, बाँस आदिको पुतला बनाइ चोकचोकमा राख्ने चलन छ । 

नकारात्मकताको प्रतीकको रुपमा बनाइने ती पुतलाहरुलाई साँझमा टोलबासीहरु भेला भई नगर बाहिर तानेर लगी खोला छेउ पुर्‍याइ सेलाउने गरिन्छ ।

साथै यस वर्ष सापारुको साथै घिन्ताङकिसि र परम्परागत आधुनिक साँस्कृतिक प्रदर्शनीहरु समेत नगर्न पनि नगरपालिकाले भनेको छ ।

भक्तपुर शहरमा गाईजात्राको अवसरमा साताभरी ताहामचा, घिन्ताङकिसि लगायतका साँस्कृतिक प्रदर्शनीको साथमा सापारु निकालिने गरिन्छ । 

यस वर्ष भक्तपुरको गाईजात्रा आउँदो श्रावण १९ गतेदेखि २७ गतेसम्म परेकोछ ।

नगरपालिकाले गथांमुगः र सापारुमा सयौंको संख्यामा मानिसहरु भेला हुँदा संक्रमण फैलिने सम्भावना रहेको हुँदा यी साँस्कृतिक गतिविधिहरु औपचारिकतामा सिमित गरी सम्पन्न गर्न भनेको होे ।

सरोकारवाला सँस्कृतिकर्मीहरुको नगरस्तरीय भेलाबाट आएको राय सुझाव अनुसार यस वर्ष यी पर्वहरु नमनाउने निर्णय भएको नगरपालिकाबाट जारी सूचनामा भनिएको छ ।

Categorized in संस्कृति