arin enterprises

न्युजिल्याण्डमा फेरी दुईजनामा देखियो कोरोना संक्रमण

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २, मंगलबार

न्युजिल्याण्डमा बेलायतबाट आएका दुई जना महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

गएको २४ दिनपछि न्युजिल्याण्डमा पहिलोपटक संक्रमण देखिएको हो ।

गत जुन ७ मा बिरामी परेका अभिभावकलाई भेट्न बेलायतबाट दोहा, ब्रिसबेन हुँदै उनीहरु न्युजिल्याण्ड आइपुगेका थिए ।

उनीहरुलाई न्युजिल्याण्डको अकल्याण्डस्थित एउटा आइसोलेसन होटलमा राखिएको थियो ।

जुन १२ को दिन उनीहरुको अभिभावकको मृत्यु भएपछि अन्त्येष्टिका लागि जुन १३ मा उनीहरूलाई वेलिङ्टन जान अनुमति दिइएको थियो ।

उनीहरु निजी गाडिमा अकल्याण्डबाट वेलिङ्टन पुगेका थिए । उनीहरूले कुनै पनि सार्वजनिक सेवाहरूको प्रयोग नगरेको बताइएको छ । 

स्वास्थ्य विभागका महानिर्देशक एस्ली ब्लुमफिल्डका अनुसार ती महिलाहरूको परीक्षणका लागि सोमबार स्वाब संकलन गरिएको थियो भने मंगलबार संक्रमणको पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएपछि हाल ती महिलाहरूले भेटेका सबैलाई समेत अहिले क्वारेन्टिनमा राखिएको महानिर्देशक डाक्टर ब्लुमफिल्डले बताए ।

गत जुन ८ तारिख यता न्युजिल्याण्ड प्रवेश गर्ने जो कोहीले अनिवार्य कोरोनाभाइरसको परीक्षण गराउनु साथै र १४ दिन सम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ ।

न्युजिल्याण्डमा गत सोमबार त्यहाको अन्तिम संक्रमितको सफल उपचार गरेपछि प्रधानमन्त्री ज्यासिन्डा अर्डेनले संक्रमितको संख्या शून्यमा झरेको घोषणा गर्दै खुसियाली मनाएकी थिइन् ।

तर बाहिरबाट आउनेहरूमा संक्रमण हुन सक्ने भएकोले यो अवस्थासँग जुध्न न्युजिल्याण्ड पूर्व तयारी अवस्थामै बसेको थियो । 

अहिले न्युजिल्याण्डमा लकडाउन खोल्नुको साथै देशभित्रका सबै सेवाहरू सुचारु गरेका छन् । साथै सामाजिक दूरी कायम गर्न सार्वजनिक भेटघाटमा पनि कुनै संख्या तोकिएको छैन । 

तर पनि देशका नाकाहरू भने खुलेका छैनन् ।

न्युजिल्याण्डमा १ हजार ५ सय ६ जना संक्रमित मध्ये २२ जनाले ज्यान गुमाएका छन् भने १ हजार ४ सय ८२ जना उपचार पछि निको भएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय