चलचित्र सम्वन्धि अध्यापन गराइने FTIN को औपचारिक सुरुवात
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० पौष ६, शुक्रबार

श्रव्यदृश्य सामग्री निर्माण, उत्पादन सम्वन्धि सम्पूर्ण विधाहरु बारे अध्ययन, अध्यापन गराइने संस्था फिल्म एन्ड टेलिभिजन इन्स्टिच्यूट अफ नेपाल (FTIN) को शुरुवात भएको छ ।
बिहिबार ललितपुरको बागडोलमा इन्स्टिच्यूटको औपचारिक उद्घाटन गरिएको हो । लतिलपुर महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सन्तोष खड्काले इन्स्टिच्यूटको उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष खड्काले वर्तमान समयमा चलचित्र, टेलिभिजन लगायतको संचारकर्मले राम्रो उद्योगकै रुप लिँदै गएको विचार राखे । इन्स्टिच्यूटमा हुने अध्ययन, अध्यापनमा वडाको पूर्ण सहयोग रहने प्रतिवद्धता वडाध्यक्ष खड्काले व्यक्त गरे ।
‘सिक्ने, सिकाउने क्रम सधैं भइरहनुपर्छ । तपाईँहरु समाजमा सीप सिकाउँदै जानु, चाहिएको ठाउँमा हाम्रो पूर्ण साथ, सहयोग र सहकार्यसमेत रहनेछ’ वडाध्यक्ष खड्काले भने ।
इन्स्टिच्यूटका कार्यकारी निर्देशक आशिष रिजालले चलचित्र वा भिडियोसँग सम्वन्धित सम्पूर्ण विधामा ७७ वटै जिल्लामा कार्यशाला, तालीम संचालन गरिसकेको समूहबाट इन्स्टिच्यूट संचालन भइरहेको जानकारी गराउँदै समाजलाई गुणस्तरीय सीप र प्रविधि हस्तान्तरण गर्ने बताए ।
इन्स्टिच्यूटमा माघबाट कक्षाहरु निरन्तर हुने बताइएको छ । सिनेमाटोग्राफी, श्रव्यदृश्य सामग्री प्रोडक्सन, निर्देशन, श्रव्यदृश्य सम्पादन लगायतका कक्षाहरु इन्स्टिच्यूटले संचालन गर्न लागेको छ ।
कार्यक्रममा वडाध्यक्षको साथै वडा सदस्यहरु, चलचित्रको साथै विभिन्न क्षेत्रका बुद्धिजिवीहरु, स्थानीय समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
Categorized in पेजथ्री