ब्राह्मणको आम्दानी, सनातनीको संस्कार र परम्पराको रक्षा !
SamacharDesk – प्रकाशमान शिल्पकार | २०८१ बैशाख २७, बिहिबार

बैसाख कृष्ण औंशी, अर्थात आमाको मुख हेर्ने मातातीर्थ औंसी । यस वर्ष हिजो बैसाख २६ गते बुधबारका दिन हामीले आमाको मुख हेर्दै, अथवा आमा नभएकाले ब्राह्मण, गुरुजुलाई सिदा, निसलाः र दान दक्षिाण दिएर सम्पन्न गरिसक्यौं ।
यो दिन विशेष गरी आमा नभएकाहरु दिवंगत आमालाई सम्झिँदै मातातीर्थ पुग्ने गर्दछन् । यस दिन आमा नभएकाहरु मातातिर्थमा गएर स्नान गरि आमाको नाममा तर्पन गर्ने गर्दछन ।
त्यहाँसम्म जान नसक्नेहरु भने आ–आफ्नै स्थानमा रहेको विभिन्न मन्दिरहरुमा आफ्नो आमाको नाममा बत्ती बाल्ने र ब्राम्हण वा गुरुजुलाई ‘सिदा’, ‘निसला’ दिने परम्परा रही आएको छ ।
मातातीर्थ मात्र हैन, अधिकांश मठ मन्दिरहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो मात्र हैन, ब्राम्हण तथा गुरुजुहरुको सिदा, निसलाः लिन भ्याई नभ्याई हुन्छ ।
गैर नेवाःहरुले ब्राम्हणलाई टपरीमा चामल, आलु, हरियो साग, दाल, बेसार, घ्यू र नुन राखेर “सिदा“ दिन्छन् भने नेवाःहरुले द्यःभाजु (राजोपाध्याय) ब्राम्हण वा बज्राचार्य गुरुजुलाई टपरीमा चिउरा, केरा, खाजा, जेरी, स्वारी, दहि जस्ता पकाइरहनु नपर्ने तत्काल खानसक्ने खानेकुरा राखेर दिने ‘निसलाः’ हो ।
यसरी आ–आफ्नो परम्परा अनुसार पकाउनु पर्ने खाद्य सामाग्री वा पकाउनु नपर्ने खानेकुरा राखेर आफ्नो आमाको आत्माको शान्ती होस भनेर दान दिने गरिन्छ ।
आमाको मुख हेर्ने मातातीर्थ औसीमा जस्तै बुबाको मुख हेर्ने कुशे औंसीमा पनि दिवंगत बुबाको आत्मा शान्ति र मोक्षको कामना गर्दै आ–आफ्नो परम्परा अनुसार ‘सिदा’ वा ‘निसलाः’ दिने परम्परा र संस्कार रहिआएको छ ।
नेवाः समाजमा कसै कसैको भने आमाबाबुको मुख हेर्ने दिन दिवंगत आमाबाबुको नाममा दिने ‘निसलाः’ द्यःभाजु ब्राह्मण वा गुरुजुलाई नदिइ खोला, नदी लगायत जलाशयको किनारमा राख्न लाने परम्परा पनि छ ।
यसरी जलाशयको किनामा लगेर मृतक आमाबाबुको नाममा निसलाः राख्दा कागले तत्काल खाएको दृष्य देख्दा निसलाः आफ्ना दिवंगत पितृले खाएको विश्वासमा प्रफुल्ल हुने गर्छन् ।
नेवाः समाजमा आफ्नो घरको मूल ढोका अगाडि जसलाई स्थानीय भाषामा पिखालखु भनिन्छ, सो स्थानमा पनि दिवंगतका नाममा आमाबाबुको मुख हेर्ने दिनमा र अन्य सानाठूला नखःचखः (चाडपर्व) हरुमा सिकिब्व राख्ने चलन छ ।
भौतिकवाद र मानव धर्मको दृष्टिकोणले हेर्ने हो भने सिदा/निसलाः दान अघाएका ब्राम्हण/गुरुजुलाई भन्दा भोकाएका गरिब दुःखीलाई दिनु अति उत्तम मात्र हैन मानव धर्म नै हुन सक्छ
ब्राह्मणलाई सिदा दान दिनु पर्ने हामी सनातनी नेपालीको परम्परा र संस्कार आमाबाबुको मुख हेर्ने दिनमा मात्र नभएर अन्य चाडपर्व पनि छ । जस्तै साउने सोमबार व्रत समाप्ति, तीज र ऋषिपञ्चमी पर्व अनि दिवंगत स्वजनहरुको वार्षिक पुण्य तिथिहरु ।
धार्मिक आस्था र विश्वासलाई पर पन्छाएर भौतिकवाद र मानव धर्मको दृष्टिकोणले हेर्ने हो भने सिदा/निसलाः दान अघाएका ब्राम्हण/गुरुजुलाई भन्दा भोकाएका गरिब दुःखीलाई दिनु अति उत्तम मात्र हैन मानव धर्म नै हुन सक्छ ।
तर हामीले सबै कुरा भौतिकवाद एवम् मानव धर्मलाई मात्र हेरेर धार्मिक आस्था विश्वास अनि परम्परा र संस्कारलाई पन्छाउँदै जाने हो भने कालान्तरमा गएर हाम्रो पहिचान नै मेटिएर जाने छ ।
यस कारण पनि हामीले आफ्नो पहिचान जोगाउन आआफ्नो धार्मिक आस्था र विश्वास अनुसारको परम्परा र संस्कारलाई जोगाउँदै पुर्खाले गर्दै आएका चलनको वास्तविकता बुझेर अनुसरण गर्दै जानु आवश्यक छ ।
हाम्रो पुर्खाले बिनाकारण कुनै पनि रितिथिति चलाएर गएका पक्कै पनि हैनन् होला ।
जिउँदैमा आमाबाबुको बेवास्ता गर्ने छोराछोरीले मृत्यु पछि परम्परा र संस्कारका नाममा दान धर्म गर्नु, कुषे औंसी र मातातीर्थ औंसीमा तामसी दान धर्म वा सिदा/निसलाः दिनु मानव धर्म, भौतिकवादको नीति र धर्म शास्त्र सम्मत पनि हुनै सक्दैन, यो सत्य नै हो ।
तर परम्परा संस्कार जोगाउनकै लागि भोकाएकालाई टुलुटुलु देखाएर अघाएकालाई मात्र सिदा/निसलाः वा अन्य कुनै भोजन दान गर्नु भनेको औंशीको मेला टपरी छ्यालब्याल बांदर राज सरह हुने पक्का छ ।
Categorized in संस्कृति