arin enterprises

कोरोना संक्रकणमा भारतले चीनलाई उछिन्यो

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ३, शनिबार

शुक्रबारसम्म आइपुग्दा कोरोना संक्रमितको संख्यामा भारत चीनभन्दा अगाडी पुगेको छ । 

भारतमा ८५ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतले संक्रमणमा कोरोनाभाइरसको उद्गम स्थल भनिएको चीनलाई उछिनेको छ । 

चीनमा अहिलेसम्म ८२ हजार ९ सय ३३ जना संक्रमित छन् ।

कोरोना संक्रमणले प्रभावित देशहरुको सूचीमा भारत अहिले एघारौं स्थानमा पुगेको छ ।

हाल भारतमा पछिल्लो समय दिनकै हजारौंको दरले संक्रमित बढ्दै गएको पाइन्छ । चीनमा दैनिक ४–५ जना मात्र नयाँ बिरामी फेला परिरहेका छन् ।

महाराष्ट्र भारतको कोरोना ‘हटस्पट’ बनेको छ । तथ्याङ्क अनुसार महाराष्ट्रमा मात्रै अहिलेसम्म २७ हजार ५ सय २४ जनामा संक्रमित छन् । 

इन्डियन एक्सप्रेसको अनुसार महाराष्ट्रको मुम्बईमा मात्र १६ हजार ७ सय ३८ जना कोरोना बिरामी रहेका छन् ।

दिल्लीमा ८ हजार ४ सय ७०, उत्तरप्रदेशमा ३ हजार ९ सय २, पश्चिम बंगालमा २ हजार ३ सय ७७ र पञ्जाबमा १ हजार ९सय ३५ जना संक्रमित छन् ।

मुम्बई, दिल्लीजस्ता ठूला सहरमा रहेका आप्रवासी कामदारलाई घर फर्कन सजिलो होस् भनेर भारतले झन्डै डेढ महिनाको लकडाउनपछि केही दिनअघि निश्चित रूटमा रेल आवागमन खुला गरेको छ । 

रेल सेवा सुरू भएपछि आवतजावत गर्ने कामदारहरूबाट बढी भाइरस फैलिरहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

भारतमा केही दिनयताको कोरोना परीक्षणमा अन्य ठाउँबाट फर्केका व्यक्तिमा बढी संक्रमण देखिएको छ । 

बिहीबार बिहारमा मात्र ४७ जना नयाँ बिरामी फेला परेको र तीमध्ये अधिकांश केही समयअघि मात्र अर्को राज्यबाट आफ्नो क्षेत्र फर्केका थिए ।

भारतका २८ राज्यमध्ये बिहारमा कोरोना संक्रमित संख्या उच्च दरले बढिरहेको छ । 

बिहार सरकारले विभिन्न राज्यबाट फर्केका कामदारमध्ये ४ हजार २सय ७५ जनामा कोरोना परीक्षण गर्दा ३ सय २० जनामा मात्र ‘पोजिटिभ’ नतिजा आएको थियो । 

यसले रेल वा अन्य यातायात साधन प्रयोग गरेर एक ठाउँबाट अर्कोमा आवागमन गरेका व्यक्तिमा कोरोना संक्रमण दर उच्च रहेको पुष्टि गर्छ ।

चीनको वुहानमा गत वर्ष डिसेम्बरको अन्त्यतिर कोरोना भाइरसको पहिलो बिरामी फेला परेको थियो । 

केहि समय पछि यो भाइरसले पूरै चीनलाई आफ्नो चपेटामा लियो । 

चीनबाट युरोप र अमेरिकासम्म फैलिँदा पनि सीमावर्ति भारतमा भने कोरोनाको खासै प्रभाव देखिएको थिएन । 

जब भारतले परीक्षणको दायरा बढायो, त्यहाँ दिनैजसो दोब्बर बिरामी देखिँदै गए ।

भारतमा पहिलो कोरोना मृत्यु मार्च १३ मा भएको थियो । त्यति बेलासम्म ७४ जना मात्र कोरोना बिरामी फेला परेका थिए । 

त्यसको १२ दिनपछि मार्च २५ बाट भारतले देशव्यापी लकडाउन सुरू गर्यो, जुन अहिलेसम्म जारी छ ।

बिरामी संख्या पाँच सय नाघ्दासम्म भारतमा ९ जनाको मृत्यु भएको थियो ।

यस भाइरसको संक्रमणबाट मर्नेको संख्याको सार्थ निको हुनेको संख्या समेत चीनमा बढि छ ।

भारतमा २ हजार ७ सय ५३ जनाको मृत्यु हुँदा चीनमा ४ हजार ६ सय ३३ जनाले ज्या गुमाएका छन् ।

त्यसैगरी ३० हजार २ सय ३४ जना उपचार पछि निको भएका छन् । चीनमा ७८ हजार २ सय ९ जनाले यो भाइरसलाई जितेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय