भारतको गेम जोनमा भीषण आगलागी, २८ को मृत्यु
SamacharDesk | २०८१ जेठ १३, आइतबार

भारतको एक गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ ।
घटनामा दर्जनौ घाइते भएका छन् । गुजरातको राजकोटमा भएको घटनामा भवनको भग्नावशेषमा थुप्रै पुरिएको आशंका गरिएको छ । बीबीसी हिन्दीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि रहेका छन् ।
‘आगलागीमा मृत्यु हुनेहरूको शव राजकोट सिभिल अस्पतालको पोस्टमार्टम कक्षमा ल्याइएको छ । शवको पहिचानका लागि डीएनए परीक्षणको तयारी भइरहेको छ,’ बीबीसीले लेखेको छ ।
सहरको मावरोडस्थित टीआरपी गेम जोनमा लागेको आगो निभाउनका लागि सयौँको सङ्ख्यामा दमकल परिचालन गरिएको थियो । अहिले आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ ।
सो मनोरन्जन स्थलमा युवायुवतीको भीड लागेको बेलामा भएको आगालागीका बीच कोलाहल मच्चिएको थियो । गेम जोनमा वेल्डिङको काम भइरहेको र सर्टसर्किटका कारण आगलागी भएको जनाइएको छ । तर आधिकारिकरुपमा भने यसबारे कुनै पुष्टि भइसकेको छैन ।
यसैबीच गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घटना स्थलमा विशेष अनुसन्धान टोली खटाईएको जानकारी दिनुभएको छ । त्यहाँको राज्य सरकारले मृतकका परिवारलाई ४ लाख र घाइतेहरूलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजकोटमा भएको आगलागीबाट आफू अत्यन्तै दुखित भएको र पिडित परिवारका साथ आफु रहेको प्रतिक्रिया दिनुभएको छ ।
आगलागीका कारण सो पार्क पुर्ण रुपमा ध्वस्त भएको छ । पार्क गुजरातका युवा युवतीका मनोरन्जनका लागि लागि निकै नै प्रख्यात पार्क हो ।
Categorized in अन्तर्राष्ट्रिय