विशाल जितसँगै भारत सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक १६, बिहिबार

आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारत सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको खेलमा श्रीलंका हराउँदै भारत सेमिफाइनलमा पुगेको हो ।
मुम्बईमा भएको खेलमा भारतले श्रीलंकामाथि ३ सय २ रनको विशाल जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
यो जितसँगै शीर्षस्थानमा उक्लिएको भारतले ७ खेलबाट १४ अंक जोड्डै अन्तिम तीन खेल बाँकी रहदै अन्तिम चारमा पुग्यो ।
बिहीबार भारतले दिएको ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमै अलआउट भयो ।
श्रीलंकाका लागि एन्जेलो म्याथ्युज र महीश तक्षणाले १२–१२ रन तथा कसुन रन्थिता १४ रन जोडेका थिए । श्रीलंकाका अरु ८ ब्याटस् म्यानहरु दोहोरो अंकमा रन नबनाइ आउट भए ।
श्रीलंकालाई सस्तैमा समेत्न भारतका मोहमद सामीले ५ विकेट लिए । उनले ५ ओभरमा १ मेडन राख्दा १८ रन खर्चिए। मोहमद सिराजले ३ विकेट लिए भने जसप्रति बुमराह र रविन्द्र जडेजाले १–१ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिंग गरेको भारतले ८ विकेटको क्षतिमा ३ सय ५७ रन जोड्यो ।
उसका लागि शुभमन गिलले सर्वाधिक ९२ रन जोडे । विराट कोहलीले ८८ रनको योगदान गरे भने श्रेयस अय्यरले ८२ रन बनाए ।
श्रीलंकाका दिलशान मुधुशंकाले ५ विकेट र दुश्मंत चमीराले एक विकेट लिए ।
पराजित श्रीलंकाले ७ खेलमा मात्र ४ अंक जोडि तालिकाको सातौ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स