आदिवासी ज्ञान सम्मेलन महोत्सव सुरु
SamacharDesk – विजयरत्न | २०८२ माघ २६, सोमबार
काठमाडौं । राष्ट्रिय आदिवासी जनजाति विकास प्रतिष्ठान (एनएफडिन) को आयोजनामा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सव–२०२६ सुरु भएको छ ।
काठमाडौँ महानगरपालिका, एफएओ नेपाल र डब्लुडब्लुएफ नेपालको सहकार्यमा काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरे ।
‘ज्ञानको साझा प्रदान, धरोहरको संरक्षण, भविष्यको निर्माण’ भन्ने मूल नारासहित आइतबारबाट सुरु भएको सम्मेलन आउँदो मंगलबार २७ गतेसम्म चल्नेछ ।
यस सम्मेलनले नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले समृद्ध नेपाल निर्माणमा सामाजिक सद्भाव र सहअस्तित्वको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री अर्यालले भने, ‘राज्यको नीतिनिर्माण तहमा सबै समुदायको सहभागिता वृद्धि गर्न सरकार निरन्तर अग्रसर छ । समानुपातिक समावेशी सिद्धान्त संविधानको मूल मर्म हो । यसलाई बचाउनु सबैको कर्तव्य हो ।”
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आदिबासीको ज्ञान, सीप र परम्परा लोप हुन नदिन सबै सक्रिय हुनुपर्ने बताए । राज्यको तहबाट पनि त्यसका लागि भूमिका खेल्न उनले माग गरे ।
प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले आदिवासी जनजातिको पुख्र्यौली ज्ञान, सीपको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले तीनदिने सम्मेलन आयोजना गरिएको जानकारी दिए ।
तीनदिने सम्मेलनमा आदिवासी जनजातिका परम्परागत ज्ञानमाथि छलफल हुनुका साथै छलफलबाट निस्किएको निष्कर्षले राज्यको नीतिनिर्माण तथा रुपान्तरण गर्न सहयोगी भूमिका निर्वाह गर्ने उनले विश्वास व्यक्त गरे ।
त्यसैगरी, नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का अध्यक्ष गेल्जे लामा शेर्पाले राज्यले आदिवासी जनजातिको परम्परागत संस्कृति र ज्ञानलाई पुस्तान्तरण गर्दै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।
सम्मेलनमा आदिवासीको प्रथा, परम्परा, शासन प्रणालीका विषयमा विभिन्न विज्ञका ८१ वटा कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल हुने प्रतिष्ठानका सदस्यसचिव ज्ञानेन्द्र पुनले बताए ।
यसैबीचमा विभिन्न क्षेत्रमा योगदान र्पुयाएका व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनेहरुमा जीतपाल किँरात, चन्द्रबहादुर गुरुङ, गोकुलप्रसाद घर्ती र मरणोपरान्तमा झकबहादुर थापामगर रहेका छन् ।
उद्घाटन कार्यक्रममा सुनुवार समुदायको स्याँदर शिल नृत्य, भोटे समुदायको स्याप्रो नृत्यसहित विभिन्न आदिवासी सांस्कृतिक प्रस्तुति समावेश गरिएको थियो । सुर्खेतबाट राउटे समूदायको उपस्थिति रहेको थियो ।
Categorized in राष्ट्रिय




