arin enterprises

यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो चित्तपोल जंगलमा लिन जाने

SamacharDesk | २०८० भाद्र ३१, आइतबार

हरेक वर्ष भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिनदेखि सुरु हुने इन्द्रजात्रामा ठड्याइने यःसिं अर्थात् इन्द्रध्वज लिङ्गो आज काटिंदै छ ।

लिङ्गो काट्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर संघको टोली भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलमा पुगेर लिङ्गो काट्न आजको दिन जाने गर्दछ ।

सोही अनुरुप आज बिहान ११ बजेर ५ मिनेटको साइतमा लिङ्गो काट्ने टोलीले हनुमानढोकाबाट साइत गर्ने र राती ९ बजेर ३४ मिनेटमा रुख काट्ने काम हुनेछ । आज काटेको रुखलाई भोलि असोज १ गते र २ गते दुई दिन लगाएर काठमाडौं पु¥याइने संघको युवा उपसमितिका संयोजक गजेन्द्र प्रसाद मानन्धरले जानकारी दिनुभएको छ ।

लिङ्गो काट्न जाने टोलीले काठमाडौं ज्याठास्थित धालासिक्व टोलका न्हेसः नायःसँग समन्वय गर्नुपर्दछ भने चित्तपोलको सामुदायिक वनमा स्थानिय ताःथलीबासीको सहयोगमा लिङ्गो काट्ने गरिन्छ ।

लिङ्गो काटिसकेपछि त्यसलाई विधिपूर्वक पूजा गरी मानिसहरुले तानेरै काठमाडौंस्थित भोटाहिटीसम्म ल्याउने चलन रहेको छ । वर्षा र सहकालका देवता ईन्द्रको विशेष पूजा गरी मनाइने इन्द्रजात्रालाई काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाउने गरिन्छ ।

हरेक वर्ष काठमाडौंको हनुमानढोकामा ईन्द्रध्वजोत्थान गरी सुरु हुने ईन्द्रजात्रा चौथी अर्थात् ईन्द्रध्वज पतनसम्म ८ दिन मनाउने गरिन्छ । यो वर्ष असोज ९ गते बिहान १० बजेर ३७ मा लिङ्गो ठड्याउने तथा ११, १२ र १५ गते रथजात्रा हुने र असोज १५ गते ईन्द्रजात्रा औपचारिक रुपमा समापन हुनेछ ।

यस अवधिमा कुमारी, भैरव, गणेशको रथयात्रा पनि हुने गर्दछ । इन्द्रध्वज लिङ्गो ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा शुभारम्भ भएको मान्यता रहिआएको छ ।

सो दिनदेखि उपत्यका तथा उपत्यकाबाहिरका विभिन्न देवीदेवताहरु मजिपाः लाखे, पुलुकिसी, हलचोक भैरव, महांकाल देवताहरु हनुमानढोकमा ल्याएर नाच देखाउने गर्दछ ।

साथै इन्द्रजात्राका अवसरमा जात्रा गर्ने कुमारी, गणेश, भैरवको रथ सँगसँगै नगर परिक्रमा गर्ने प्रचलन रहिआएको छ ।

ईन्द्रजात्रा र इन्द्रध्वजोत्थानको वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा पनि उल्लेख गरेको पाइन्छ ।

Categorized in संस्कृति