रोहितको शानदार सतकका वावजुद नेपाल युएईसँग पराजित
SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८२ कार्तिक १३, बिहिबार
 
                              आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज युएई विरुद्धको खेलमा कप्तान रोहितकुमार पौडेलको शानदार शतकका बावजुद पनि नेपाल पराजित भएको छ ।
नेपालले दिएको २३४ रनको लक्ष्य युएईले ४३.३ ओभरमा ५ मात्र विकेटको क्षतिमा पूरा गर्दै नेपाललाई हराएको हो ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ५० ओभरमा २३३ रन बनाउँदै अलआउट भएको थियो ।
२३३ रनको योगफलमा नेपालका लागि कप्तान रोहितकुमार पौडेलले १०९ रनको योगदान दिएका थिए । रोहितले १३० बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
एकदिवसीय खेलमा रोहितको यो दोस्रो शतक हो। यसअघि उनले सन् २०२२ पिएनजीविरूद्ध शतक प्रहार गरेका थिए ।
आजको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेल ७ रन जोडे भने भीम सार्कीले ३ रन मात्र बनाउन सके । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ रन, सोमपालले ६ र करण केसीले १३ रन बनाएका थिए ।
युएईका लागि ओपनर आलिशन सराफुले ४५, आर्यन्स शर्माले ९८ रन बनाएका थिए ।
बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए ।
सिरिजमा यसअघि पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनले हारेको थियो ।
यस त्रिकोणात्मक सिरिजमा अब नेपालले शनिबार अमेरिकासँग खेल्नेछ भने बुधबार युएईसँग खेल रहेको छ ।
Categorized in स्पाेर्ट्स 
    




 
     
    