संसद पुनर्स्थापना गर्न वुद्धिजिवीहरुको माग
SamacharDesk – बिकाश | २०७७ पौष २८, मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बैसाखमा निर्वाचन हुने दावी गरिरहँदा विभिन्न क्षेत्रबाट संसद विघटनको विरोध भने निरन्तर बढ्दै गएको छ ।
चार पूर्व प्रधानन्यायाधीशहरुबाट जारी भएको विज्ञप्तीको चर्चा सेलाउन नपाउँदै विभिन्न बुद्धिजिवी संगठनले पनि संसद विघटनलाई असंवैधानिक भन्दै संयुक्त विज्ञप्ती जारी भएको छ ।
नेपाल बौद्धिक पेशाकर्मीका संघका अध्यक्ष श्रीकृष्ण शर्मा, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा.केदारनरसिंह केसी र नेपाल बुद्धिजिवी संगठनका अध्यक्ष डा.दिनेशचन्द्र सापकोटाले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।
विज्ञप्तीमा प्रधानमन्त्री ओलीले संविधानको संवैधानिक व्यवस्था र भावना विपरित प्रतिनिधि सभाको विघटन गरेको भनी लेखिएको छ । संविधानमा हुँदै नभएको धारा प्रयोग गरी जनप्रतिनिधिमूलक संस्थाको विघटनले लोकतन्त्रलाई कमजोर पारेको दावी समेत वुद्धिजिवीहरुले गरेका छन् ।
‘संस्थागत विकासको प्रक्रियामा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानमाथि प्रहार गर्ने सरकारको कदमले लोकतन्त्रमात्र कमजोर भएको छैन,’ विज्ञप्तीमा लेखिएको छ, ‘देश नै राजनीतिक र संवैधानिक भूमरिमा धकेलिएको छ ।
विज्ञप्तीमार्फत सरकारले आफ्नो कदम सच्याउनको लागि आग्रह गर्नुका साथै सबैले आ–आफ्नो ठाउँबाट खबरदारी र सहकार्य गर्न समेत आव्हान गरिएको छ ।
