नशाको लतदेखि सावधानीबारे विज्ञसँग शिक्षकहरुको अन्तरक्रिया
SamacharDesk – समाचारडेस्क डिस्ट्रिक्ट रिपोर्टर | २०८० चैत्र २९, बिहिबार

समाजमा नै नशालु पदार्थको सेवन र यसबाट उत्पन्न हुनसक्ने भयावह समस्याबारे भक्तपुरका शिक्षकहरुले विज्ञसँग छलफल गरेका छन् ।
नशालु पदार्थले समाजमा भयावह समस्या ल्याउन सक्ने भएकोले यसको सामना सबले सचेत, सजग र अति गम्भीर भएर गर्न आवश्यक भएको बरिष्ठ मानसिक रोग विशेषज्ञ प्रा.डा. धनरत्न शाक्यले औंल्याए ।
शिक्षकहरुको संगठन इशानद्वारा भक्तपुर, ख्वपछेँमा आज विहिबार शिक्षकहरूका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. शाक्यले नशालु, लागू पदार्थको सेवनको लत, मानसिक, स्नायु लगायत अरु शारीरिक समस्याहरुको बारेमा चर्चा गरे ।
‘समाजको लागू पदार्थको समस्या भयावह छ । यसको रोकथाम, उपचार, पुनर्स्थापनामा नागरिक, परिवार, विद्यालय, शिक्षक, समाज, सरकारले आ–आफ्नो तर्फबाट सचेत, सजग र जागरुक भई भूमिका निर्वाह गर्नुपर्छ’ डा. शाक्यले औंल्याए ।
प्रा.डा. शाक्यले सहभागी सम्पूर्ण शिक्षकहरुलाई यो सचेतना अभियानमा परिवर्तनका सम्बाहकका रुपमा भुमिका निभाउन आह्वान पनि गरे ।
ईशान, भक्तपुरका अध्यक्ष प्रेमजंग थापा, संघका सल्लाहकार सरोजराज गोसाइँले आआफ्नो धारणा र नववर्ष २०८१को शुभकामना मन्तव्य राखेका थिए ।
विभिन्न विद्यालयहरुका शिक्षकहरु उक्त प्रशिक्षणबाट लाभान्वित भएको आशा आयोजकले गरेको छ ।
Categorized in समाज