इजरायलमा संसद भंग, मार्चमा निर्वाचन
SamacharDesk – बिकाश | २०७७ पौष ८, बुधबार

इजरायल सरकारले संसद भंग गरेको छ । प्रधानमंत्री बेंजामिन नेतन्याहूको गठबन्धन सरकारले बजट पारित गर्न असफल भएपछि संसद भंग गरेका हुन् ।
संसद भंग भएपश्चात आगामी मार्च २३ गतेका लागि निर्वाचनको मिति घोषणा गरिएको छ । इजरायलमा दुई वर्षको दौरानमा चौथो पटक निर्वाचन हुन लागेको हो ।
डिसेम्बरको शुरुआततिर संसद भंग गर्नको लागि प्रस्ताव गरिएको थियो भने उक्त प्रस्तावको पक्षमा ६१ मत खसेको थियो ।
इजरायली गठबन्धन सरकारको सहयोगी र रक्षामंत्री बेनी गेंट्जले नेतन्याहुलाई वचन पूरा नगरेको आरोप लगाएका छन् ।
नेतन्याहू लिकुड पार्टीका अध्यक्ष हुन् भने गेंट्ज ब्लू एंड व्हाइट पार्टीसँग आवद्ध छन् । अप्रिलमा दुई दल मिलेर सरकार बनाएका थिए तर चाँडै दुई दलबीच मतभेद देखिन थालेको हो ।
दुवै दलबीच बजेटलाई नै लिएर विवाद बढेको हो । गेंट्जले २०२० र २०२१ दुवै वर्षलाई समेट्दै एउटा बजेट पारित गर्नलाई भनेको थिए । तर प्रधानमन्त्री नेतन्याहु यसको लागि तयार भएनन् ।
प्रधानमन्त्री नेतन्याहूमाथि भ्रष्टाचारको आरोप पनि लागेको छ भने कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भनेर उनको आलोचना भइरहेको छ । इजरायलमा नेतन्याहुविरुद्ध लामो समयदेखि प्रदर्शन पनि भइरहेका छन् ।
Categorized in अन्तर्राष्ट्रिय