जापानमा ‘ट्वीटर किलर’लाई मृत्युदण्ड
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ३०, मंगलबार

ट्वीटरमार्फत सम्पर्क गरे ९ जनाको हत्या गर्ने व्यक्तिलाई जापानमा फाँसीको सजाय सुनाइएको छ । ‘ट्वीटर किलर’ को नामले चर्चित ३० वर्षीय टाकाहिरो शिराइशीलाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
टाकाहिरोलाई सन् २०१७ मा पक्राउ गरिएको थियो । टाकाहिरोको फ्ल्याटबाट मानव अंग बरामद भएपछि गिरफ्तार गरिएको थियो ।
सोधपुछको क्रममा टाकाहिरोले हत्या गरेर शरीरका अङ्गहरु क्षतविक्षत गरेको स्वीकारेका थिए ।
टाकाहिरोले हत्या गर्नेमा प्राय महिलाहरु थिए । ती महिलाहरुलाई टाकाहिरोले सोशल मीडिया ट्वीटरमार्फत भेटेका थिए ।
जिन्दगीबाट निराश भई आत्महत्या गर्ने मानसिकता बनाएका महिलाहरुलाई टाकाहिरोले ट्वीटरमार्फत घर बोलाउने गरेको जापानी समाचार संस्थाहरुले जनाएको छ ।
जापानी समाचार संस्था क्योडोका अनुसार टाकाहिरोले २०१७ को अगस्तदेखि अक्टोबरको बीचमा १५ देखि २६ वर्ष उमेर समूहका आठ महिला र एक जना पुरुषको घाँटी थिचेर हत्या गरेका थिए ।
खानतलासीको क्रममा टाकाहिरोको फ्ल्याटबाट मान्छेहरुको हाथ र खुट्टाको हड्डिहरुको साथमा ९ वटा टाउको भेटिएको थियो ।
यस घटनापछि टाकाहिरोको घरलाई जापानी संचारमाध्यमहरुले ‘हाउस अफ हरर’ को नाम दिएका थिए ।
यस घटनापछि जापानमा ‘सोशल मीडियामा आत्महत्याको चर्चा’ लाई लिएर बहस चर्केको थियो ।
Categorized in अन्तर्राष्ट्रिय