arin enterprises

लन्डनमा धमाधम फैलिँदै नयाँ प्रकारको भाईरस

SamacharDesk – बिकाश | २०७७ पौष ७, मंगलबार

व्रिटेनमा कोरोना भाइरसको नयाँ प्रकार देखिएपछि धेरै देशहरुले ब्रिटेन आवतजावतमा प्रतिवन्ध लगाएका छन् । व्रिटेनमा देखिएको नयाँ प्रकारको भाईरसको संक्रमण दर उच्च देखिएपछि संक्रमण फैलिन नदिन भन्दै केही देशहरुले उतातिरको उडान बन्द गरीसकेका छन् ।

व्रिटेनमै पनि संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै अहिलेसम्मकै कडा नियम लागू गरिएको छ ।

यो नयाँ प्रकारको भाईरसका कारण व्रिटेनमा धेरै मानिसहरु विरामी भइरहेका छन् । यो भाईरस निकै कम दिनमा ईङ्ल्यान्डका धेरै भागहरुमा फैलिसकेको छ ।

प्रयोगशालामा गरिएको केही प्रयोगहरुबाट भाइरसको यो प्रकार पहिलेको भन्दा चाँडै फैलिन सक्ने देखिएको छ ।

ब्रिटेनमा कोरोनाको नयाँ प्रकारको भाईरस सेप्टेम्बरमा पहिलो पटक देखिएको थियो । नोभेम्बरमा लन्डनमा भेटिएका नयाँ संक्रमितमध्ये एक चौथाईमा यो प्रकारको भाईरस देखिएको थियो भने डिसेम्बरको मध्यमा दुई तिहाई संक्रमितमा भाईरसको यो प्रकार देखिएको हो ।

ब्रिटेनका प्रधानमंत्री बोरिस जनसनले भाईरसको यो प्रकारको भाईरसलाई लिएर कुनै ठोस जानकारी नभएको बताएका छन् ।

यो प्रकारको भाईरस अहिलेसम्ममा नर्डर्न आयरल्यान्डबाहेक पुरै ब्रिटेनमा फैलिसकेको बताइएको छ । लन्डन, दक्षिण–पूर्व इंग्ल्यान्ड र पूर्वी इंग्ल्यान्डमा यसको संक्रमण बढि पाइएको छ ।

यद्यपि अहिले व्रिटेनमा उपलब्ध भ्याक्सिनले यो भाईरस नियन्त्रणमा काम गर्नसक्ने अनुमान वैज्ञानिकहरुको रहेको छ । भाईरसले आफ्नो रुप परिवर्तन गरेपनि ब्रिटेनमा अहिले उपलब्ध ३ वटा भ्याक्सिनले विकास गर्ने प्रतिरोधी क्षमताले भाईरसलाई प्रभाववहीन बनाउन सक्ने देखिएको वैज्ञानिकहरुको भनाई छ ।

भाईरसलाई रुप परिवर्तन गर्न दिइयो भने चिन्ताको विषय हुनसक्ने क्याम्ब्रिज यूनिभर्सिटीका वैज्ञानिकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अहिले उपलब्ध भ्याक्सिनमा परिवर्तन ल्याउन सकिने पनि वैज्ञानिकहरुले बताएका छन् ।

Categorized in अन्तर्राष्ट्रिय