पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सम्पन्न
SamacharDesk | २०८० चैत्र २०, मंगलबार

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा सोमबार सम्पन्न भएको छ ।
तीनदिनसम्म संचालन भएको महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो ।
पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा 'चिसो मान्छे'ले उत्कृष्ट चलचित्र र 'घुर्रा'ले उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको छ । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् ।
एक सटमा खिचिएको बालमनोविज्ञानमा आधारित लघुचलचित्र घुर्राको लेखन तथा निर्देशन रंगकर्मी मोहन अभिलाषीले गरेका छन् । चलचित्र 'महापुरुष'बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।
त्यस्तै चलचित्र 'छक्का पन्जा चार'बाट दीपक राज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले छक्का पन्जा चारबाटै जुरी मेन्सन अवार्ड पाएकी छिन् ।
राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्रमा 'थिम', वातावरणीय चलचित्रमा 'दिअर ईज नो टुमारो', उत्कृष्ट डकुमेन्ट्रीमा 'मकै विवाह', उत्कृष्ट महिला चलचित्र 'द गोर्खा गर्ल', उत्कृष्ट बाल चलचित्रमा 'ईअर्ली होम'ले अवार्ड पाएको छ भने स्पेशल जुरी मेन्सन अवार्ड 'जर्ना' र 'युवराज'ले प्राप्त गरेको छ ।
लघुचलचित्र 'साउण्ड अफ ड्रिमिङ'बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए । प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रदिप पौडेल उपस्थित रहेको थिए ।
मिथिला शर्मा, भुवन चन्द, हरिवंश आचार्य, दीपाश्री निरौला, सुश्मा कार्की, आर्यन सिग्देल, मोहन निरौला लगायत थुप्रै कलाकारहरुको उपस्थित थिए ।
अन्तरास्ट्रियतर्फ उत्कृष्ट चलचित्र भारतको 'मुझे स्कुल नही जाना' र लघुचलचित्रमा बेलायतको 'नो फ्रिडम नो आर्ट'ले अवार्ड पाएको छ । बंगलादेशको प्रशुन रहमानले चलचित्र 'डियर सत्यजित'बाट उत्कृष्ट निर्देशक अवार्ड पाए ।
उत्कृष्ट महिला चलचित्रमा पाकिस्तानको 'ईन्टरभल', डकुमेन्ट्रीमा बहराइनको 'शैख अल तानवीर', बाल चलचित्रमा भारतको 'शट बुट थ्री', वातावरणीय चलचित्रमा साउथ अफ्रिकाको 'द लाष्ट सीड', मानव अधिकार चलचित्रमा बेल्जियमको 'ह्वेर ह्याभ अल द स्माईल्स गन'ले अवार्ड प्राप्त गरेको छ ।
उत्कृष्ट अभिनेतामा बंगलादेशको चलचित्र 'जुद्धो जोएर किशोर नायक'बाट अतिक्युर रहमान शिहान, अभिनेत्रीमा क्यानडाको चलचित्र 'जेन'बाट जोभान्ना बुर्की, उत्कृष्ट लेखकमा चेक रिपब्लिकको 'सेक्रेट्स अफ एन वर्ल्ड गन टुबाट ईभो मचारेक, उत्कृष्ट छायाँकारमा अमेरिकाको 'द ट्रु समिटुबाट कोर्बन रबीले अवार्ड पाएका छन् ।
जुरी मेन्सन अवार्ड नेपालमा छायांकन गरिएको जर्मनीको 'नमस्ते हिमालय' र स्पेसल मेन्सन अवार्ड फ्रान्सबाट 'ईमाकुलेट' र पाकिस्तानको 'समटाईम्स ईभन द सोर ड्रन्स'ले पाएको छ ।
चलचित्र विकास बोर्डको हलमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भईरहँदा विकास बोर्डकै अध्यक्ष भुवन केसी भने अनुपस्थित रहेका थिए ।
तीन दिने महोत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डमा गरिएको थियोे भने समापन चलचित्र विकास बोर्डको हलमा गरिएको थियो ।
Categorized in पेजथ्री