arin enterprises

पाकिस्तानमा अन्तराष्ट्रिय उडान सुचारु

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १७, शनिबार

पाकिस्तानले शुक्रबार रातिबाट अन्तराष्ट्रिय उडान सुचारु गरेको छ ।

शुक्रबार एक सूचना जारी गर्दै पाकिस्तानले गत मार्चदेखि रोकिएको अन्तर्राष्ट्रिय उडानलाई शुक्रबार रातिदेखि पुनः सुरु गर्ने जनाएको थियो ।

पाकिस्तान सरकारले कोरोना भाइरस (कोभिड(१९) संक्रमण नियन्त्रण गर्नका लागि विभिन्न नियमित गतिविधिमा रोक लगाएको थियो । 

पाकिस्तानले चार्टर्ड र नियमित तालिकामा नराखिएको उडान सुरू गरेको त्यहाँका स्थानीय संचारमाध्यमले जनाएका छन् । नियमित उडानहरू भने शनिबारबाट मात्र सुरू हुने जनाइएको छ ।

पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले घरेलु उडानलाई भने पहिले नै सुरू गरिसकेको छ । 

सूचनामा भने अनुसार पाकिस्तानका ग्वादर र तुर्वत विमानस्थल बाहेक सबै अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय उडानहरू सञ्चालनका लागि अनुमति दिइएको छ ।

अन्तराष्ट्रिय उडानका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई भने पालना गर्नुपर्नेछ । 

पाकिस्तान सरकारले पनि विदेशका लागि हुने उडानमा आवश्यक प्रक्रिया भने यस पहिले नै तोकेको थियो ।

कोभिड–१९ संक्रमणबाट सुरक्षाका लागि विमान कम्पनीहरूले विमानलाई उडानपूर्व निसंक्रमण प्रक्रियालाई सुनिश्चित गर्ने र विमानस्थलमा भिडभाड नगर्ने लगायतका सावधानी र नियमहरुलाई पालना गर्नुपर्ने हुन्छ । 

Categorized in अन्तर्राष्ट्रिय