arin enterprises

आज १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

SamacharDesk – Ram Dangol | २०८० बैशाख १८, सोमबार

आज १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस ।

हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिन्छ । यस दिन विश्वका ८० भन्दा बढी देशहरूमा आधिकारिक रूपमा सार्वजनिक विदा हुन्छ भने कतिपय देशहरूमा सामान्य रूपमा मनाइन्छ ।

विश्वका धेरै देशहरूमा यही दिनलाई आधिकारिक मजदुर दिवसको रूपमा मनाइन्छ भने केही देशहरूमा यस दिन बसन्त ऋतुको पर्व मे दिवसको रूपमा मनाइन्छ ।

त्यस्तै अमेरिका लगायतका केही राष्ट्रहरूमा मजदुर दिवस अलग्गै दिनमा मनाइने गरिन्छ । श्रमिक दिवसका अवसरमा विभिन्न मजदुर संगठनले श्रमिक अधिकार र सामाजिक सुरक्षाको लागि बिविध कार्यक्रम गर्दैछन् ।

१९ औँ शताब्दिको औद्योगिकीकरणमा यूरोपका उद्योगपतीहरूले दैनिक १५ घण्टासम्म  न्यून पारिश्रमिकमा श्रम शोषण गरीरहेको कहालीलाग्दो परिस्थितिका बीच त्यहाँका मजदुरहरूले १ मे १८८६ का दिन त्यसका विरुद्ध समानता, उपयुक्त श्रमज्वाला, उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोस गरे र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माँग गरे ।

शिकागोमा यही माग सहीतको श्रमीकहरूको शान्तिपूर्ण प्रर्दशनकारीहरू माथी गोली चलाउंदा थुप्रै प्रदशनकारीको हत्या भयो र ४ में का दिन आक्रोसित प्रर्दशनकारीद्वारा बम विष्फोट गर्दा ४ प्रहरी सहीत ७ जनाको मृत्यु भयो, त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो ।

यसकै ३ वर्षपछी French Socialist Party ले मे १ लाई (श्रमीकहरु एकीकृत हुने घोषणा गरेको दिन) International Workers Day को रूपमा मनाउने घोषणा गर्यो परिणामस्वरूप हामी पनी यो दिनलाई मनाउंदै आयका छौं ।

१३२औं श्रमिक दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवीहरूलाई शुभकामना दिनुभएको छ ।

यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलको विश्वास छ ।

उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु मुख्य हुने उहाँले बताउनुभएको छ ।

यस्तै प्रधानमन्त्री  पुष्पकमल दाहाललेले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको आज शुभकामना दिंदै उहाँले सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनु भएको हो ।

राष्ट्रतर्फबाट प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने पनि प्रधानमन्त्री दाहालको वक्तब्यमा उल्लेख छ ।

अदक्ष र अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाइ मजदुरलाई दक्ष बनाउन अनिवार्य रुपमा पेशागत तालिम, आधुनिक सामग्री, उपयुक्त पोशाक र कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको पनि उहाँले उल्लेख गर्नुभएको छ ।

नेपालमा २००७ सालमा विराटनगरको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले यो दिवसका दिन सार्वजनिक बिदा दिन थालेको छ ।

नेपालमा यो दिवस मनाउन थालेको लामो समय भईसक्दा पनि अनौपचारिक क्षेत्रका श्रमिकहरु भने सामाजिक सुरक्षामा समेटिन सकेका छैनन् ।

नेपालले १३२औं श्रमिक दिवस मनाइरहँदा वास्तविक श्रमिकहरुको अधिकारको कुरा, समान ज्यालाका विभेदका कुराहरुमा कमी भए पनि निमित्यन्न हुन सकेको छैन ।

अझै पनि श्रमिकहरु दैनिक काम नगर हातमुख जोर्न नै धौधौको परिस्थिति छ । ८ घण्टा काम, ८ घण्टा आराम, ८ घण्टा मनोरन्जनको कुरा अझै श्रमिकहरुले व्यवहारमा उतार्न गाह्रो छ । किनकि श्रमिकहरुले ८ घण्टा काम गरेको पारिश्रमिक नै न्यून हुन जाँदा आफ्नो जीवन निर्वाह गर्न नै गाह्रो छ ।

अझ विगत भन्दा वर्तमानमा बजारको भाऊ ५० प्रतिशतले वृद्धि भएपछि बजार भाऊ अनुसार चल्न श्रमिकहरुलाई निकै गाह्रो अवस्था छ । उनीहरुलाई एक दिन मात्र काम नगरे पनि भोलि के खाने भन्ने स्थिति अझै विद्यमान नै छ ।

राज्यबाट पाउने अनुदानहरु पनि केही सुकिला मुकिला वर्गको अधिनमा रहँदा वास्तविक श्रमिकहरुले केही राहत पाउन सकेको छैन । वास्तविक श्रमिकहरु जतिसुकै श्रम गरे पनि, पसिना बगाए पनि आफ्नो श्रमका मूल्यमा कमी हुँदा बजार भाऊसँग जुभ्mन सक्ने अवस्था छैन । 

तसर्थ राज्यका निकायहरुले वास्तविक श्रमिकहरुलाई पहिचान गरी उनीहरुको श्रीवृतिका लागि काम गर्नुपर्ने देखिन्छ र श्रमिकहरुको पहिचान गरी जीवनयापनका लागि आवश्यक कुरामा सहुलियत प्रदान गर्नुपर्ने देखिन्छ । 

उनीहरुलाई उचित तालिम प्रदान गरी उनीहरुको स्तरमा वृद्धि गर्न पनि राज्यले ध्यान दिनुपर्ने जरुरी देखिन्छ ।

Categorized in राष्ट्रिय