‘मैले नेतृत्व लिएको समय ठुलै चुनौतीपूर्ण छ’ – श्रेष्ठ
SamacharDesk – बिराज | २०८० मङ्सिर २४, आइतबार

गत मंसीर १७ गते आइतबार भक्तपुर चेम्बर अफ कमर्सको छैठौं वार्षिक साधारण सभा र तेश्रो अधिवेशन भक्तपुरमा सम्पन्न भयो र अधिवेशनबाट साविक वरिष्ठ उपाध्यक्ष कविदास श्रेष्ठ अध्यक्ष्न बने ।
पहिलो कार्यकालमा उपाध्यक्ष, दोश्रो कार्यकालमा वरिष्ठ उपाध्यक्ष बन्दै अहिले जिल्ला समितिको नेतृत्व बोकेका श्रेष्ठसँग समाचारडेस्क सम्वाददाताले गरेको कुराकानीको सम्पादित अंशः
भक्तपुर चेम्बर अफ कमर्शको शुरुवात कसरी भएको हो ?
भक्तपुर चेम्बर अफ कमर्शको सुरुवातको कुरा गर्नुपर्दा सुरुमा नेपाल चेम्बर अफ कमर्शको इतिहास पल्टाउनुपर्ने हुन्छ । वि.सं. २००७ सालमा प्रजातन्त्र आएको बेलामा व्यापारीवर्गबाट पनि तत्कालीन राजा त्रिभुवलाई भेट्नको लागि तत्कालीन व्यापारीहरुको एउटा समूह ‘बनितमण्डल’ बनाइयो । सोही समूहबाट २००९ सालमा नेपाल चेम्बर अफ कमर्शको स्थापना भयो ।
२०२२ सालमा तत्कालीन राजा महेन्द्रले नेपाल पनि प्रजातान्त्रिक देश हो भनी अन्तर्राष्ट्रिय मञ्चमा देखाउन व्यापारीहरुको अर्को संगठन उद्योग वाणिज्य संघको स्थापना गरे । यसपछि उद्योग वाणिज्य संघको काम भनेको जिल्ला जिल्लामा गतिविधि गर्ने र नेपाल चेम्बर अफ कमर्शको काम अन्तराष्ट्रिय मञ्च र सरकारी तहसँग समन्वय गर्ने भयो ।
यसरी नेपाल चेम्बर अफ कमर्श राजधानीमा रही अन्तर्राष्ट्रिय मञ्च र राज्यसँग समन्वय गर्ने संगठन भयो । देश संघीयतामा गइसकेपछि भने चेम्बरले पनि जिल्ला जिल्लामा संगठन विस्तार गर्दै गयो र भक्तपुर चेम्बर अफ कमर्शको पनि गठन भएको हो ।
भक्तपुर चेम्बर अफ कमर्शमा तपाईँ कसरी आवद्ध हुनुभयो ?
भक्तपुर चेम्बर अफ कमर्श गठनको लागि भएका सुरुवाती भेलाहरुदेखि नै म यसमा आवद्ध हुँदै आएको हो । जिल्ला समिति गठन भएपछि पहिलो कार्यकालमा म उपाध्यक्ष पदमा थिएँ भने आन्तरिक रुपमा संगठन विस्तारको क्रममा दोश्रो कार्यकालमा वरिष्ठ उपाध्यक्ष पदमा बसेर संगठनमा योगदान दिएँ ।
वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने प्रावधान अनुसार अहिले तेश्रो कार्यकालमा अध्यक्ष बनेको छु र जिल्लाको नेतृत्व सम्हालेको छु ।
आर्थिक मन्दीको वातावरणमा आफ्नै व्यापार व्यवसार धर्मराइरहेको अवस्थामा राष्ट्रिय स्तरमा सोच्न सकिने अवस्था भएन । यो पाइलाले केही विश्राम लिएको भने छ, फेरी अघि बढ्नु भने पर्छ
यो भन्दा अघिको कार्यकालहरुमा तपाईँको सक्रियता वा नेतृत्वमा के के उल्लेखनीय कामहरु भए ?
गत वर्ष नेपाल राष्ट्र बैंकले अव्यवहारिक ढङ्गले जुन किसिमको नियम कानूनहरु ल्यायो, ऋणमा दोब्बर जस्तै नै व्याजदर लगायो, यसको विरुद्ध भएका कार्यक्रमहरु सबै मेरै नेतृत्वमा भएको थियो ।
नेपाल चेम्बर अफ कमर्शसँग समन्वय गर्दै कार्यक्रमको योजना, तालिका बनाउनेदेखि लिएर ज्ञापन पत्र बुझाउने कामसम्म पनि भए । सामाजिक संजालको अभियानदेखि लिएर जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउनेसम्मका कामहरु भए ।
अझ उपत्यकाका तीन जिल्लाको साझा कार्यक्रम माइतीघर मण्डलामा गर्नेसम्मको योजना थियो । तर त्यो बेला हाम्रा मागहरु केही हदसम्म सम्वोधन भएपछि कडा किसिमका आन्दोलनका कार्यक्रमहरु गरिएन ।
व्यावसायिक गतिविधिको सवालमा पनि, साना तथा मझौला व्यवसायीहरुलाई उत्थान गर्नुपर्छ भन्दै केही योजनाहरु अघि बढाइयो । यसको साथमा यहाँको स्थानीय उत्पादनलाई निर्यात गर्न बाहिर देशको बजार खोज्न पनि केही कामहरु गरियो ।
बाहिर देशमा हुने विजनेस समिट आदिमा निमन्त्रणा आउँदा उताबाट त आफ्नो उत्पादन निर्यात गर्नको लागि बोलाइने हो तर, नेपाली उत्पादन बाहिर देशमा निर्यात गर्नको लागि सम्भाव्यता अध्ययन, छलफलको मञ्चको रुपमा त्यस्तै समिटहरुलाई सदुपयोग गर्न पनि खोजियो ।
अहिले आर्थिक मन्दीको वातावरणमा आफ्नै व्यापार व्यवसार धर्मराइरहेको अवस्थामा राष्ट्रिय स्तरमा सोच्न सकिने अवस्था भएन । यो पाइलाले केही विश्राम लिएको भने छ, फेरी अघि बढ्नु भने पर्छ ।
तपाईँले विगतमा अगाडी बढाउनुभएको कुन कुन योजनालाई निरन्तरता दिनुहुन्छ र नयाँ योजनाहरु केके छन् ?
मैले सुरुदेखि कुरा गर्दै आएको, जोड दिँदै आएको विषय भनेको युवा स्वरोजगारी नै हो । यो योजनामा पहिलादेखि सक्रिय रहँदै आएको हो तर कार्यान्वयन पक्षमा भने व्यवहारीक कठिनाई छ । अब यसलाई मूर्त रुप दिनको लागि केही केही संकेतहरु देखिएका छन् ।
जस्तै, तिहारमा धेरै फुलहरु खेर गयो भन्ने कुरा आयो । नास्टले पनि खेर गएको फुलहरुमा ल्यूटिन निकाल्न मिल्छ त भन्यो । तर ल्यूटिन केमा प्रयोग हुन्छ त भनेको छैन । यसै सन्दर्भमा केही अध्ययन गरिरहँदा एकजना साथीमार्फत म वनस्पति विभागसम्म पुगें । त्यहाँ पुगेपछि मात्रै ल्यूटिन भन्ने कति महत्वपूर्ण रहेछ भनेर बुझें ।
यति मात्र होइन, सयपत्री फुलको एक एक भाग व्यवसायको लागि त निकै उपयोगी पो रहेछ । अहिले तत्काल यो कार्यक्रमलाई अगाडी बढाउन सोचिरहेको छु । यसमा सानो, मध्यमदेखि ल्यूटिनसम्म गए ठुलै आकारको व्यवसाय गर्न सकिन्छ ।
त्यसको लागि लगानी करोडौं चाहिएला, बजार पनि खोज्नुपर्छ । निर्यात हुँदै बाहिर देशमा जाने सम्भावना पनि छ । बजार पाइयो भने त करोड भन्ने ठुलो कुरै होइन । तिहारको एउटा चर्चाले यति सम्भावना भेटिन्छ, अब सोचौं खोज्दै गए यहाँ सम्भावनाको त पहाड भेटिएला ।
तपाईँ अध्यक्ष भइसकेर संगठन भित्र सुधार गर्नुपर्ने पक्ष, कमजोरी आदि केही देख्नुभएको छ ?
सदस्य संख्या अलि बढाउनुपर्ने देखिएको छ । हुन त जिल्ला समिति गठन भएको भख्खरै पाँच वर्ष पुगेको छ, धेरै समय पनि भएको छैन । समयावधिको हिसाबले अहिलेको संख्या पनि ठिकै छ । सुरुमा कम संख्यामा व्यवसायीहरु भेला भएर जिल्ला समिति गठन गरियो । संगठनको शुरुवातमा वेट एन्ड वाच भन्दै बाहिर बसेर हेरीरहने पनि हुँदो रहेछ ।
महिला व्यवसायीको संख्या पनि निकै कम छ । अब मेरो कार्यकालमा भक्तपुर जिल्लामा नयाँ उद्यमी, व्यवसायीको साथमा महिला व्यवसायीलाई अगाडी ल्याउने र पुराना उद्यमी, व्यवसायीहरुलाई पनि संस्थामा आवद्ध गराउँदै सबै एकजुट भएर यस क्षेत्रको उत्थानमा लाग्ने योजना छ ।
साथीहरुसँग मिलेर एक महिनामा के कति गर्ने, एक वर्षमा कति सदस्य पुर्याउने भनी योजना बनाई अघि बढ्छु ।
आफ्नो योजनालाई कार्यान्वयन पक्षसम्म पुर्याउन अध्यक्ष पद नै चाहिन्छ ?
योजना, अवस्था, विषयवस्तुले फरक पर्छ । कुनै कामको लागि त, साधारण सदस्य मात्रै बने पनि पुग्ला । तर संस्थालाई आफ्नो भिजन अनुसार अगाडी बढाउन अध्यक्ष पद नै आवश्यक पर्न आउला ।
जस्तै, चर्को व्याजदर विरुद्धको प्रदर्शनका लागि मैले प्रस्ताव राख्दा संयोजनको लागि अध्यक्षज्यूले मलाई नै अख्तियारी दिनुभयो । अनि मैले केन्द्र लगायत जहाँ जहाँ समन्वय गर्नुपर्ने गरें र आफ्नो योजना अनुसार कार्यक्रम अगाडी बढाएँ । नेतृत्व लिएरै काम गर्दा अलि सजिलो भने हुने रहेछ ।
अब म अध्यक्ष भएँ । संगठनमा देखिएका कमजोरी वा सुधारात्मक पक्षमा काम गर्नुका साथै योजना, कार्यक्रमहरु आफ्नो भिजनहरु अनुसार अगाडी बढाउन पाइयो । यसो भन्दैमा आफ्नो मनपरी गर्ने पनि होइन । साझा संगठन हो, समितिका साथीहरुसँग मिलेर सबैको अपनत्व हुने गरी आफ्नो भिजनलाई अगाडी बढाउँछु ।
तपाईँ अध्यक्ष बन्नुभएको समयमा आर्थिक मन्दी लगायतका ठुला चुनौतीहरु आइरहेका छन् । तपाईँ यस्तो अवस्थामा कसरी अगाडी बढ्नुहुन्छ ?
यो सम्पूर्ण उद्योग क्षेत्रको लागि ठुलै चुनौतीको समय हो । नेतृत्व नै बोकेर आएको हिसाबले मेरो लागि पनि निकै ठुलै चुनौती त छ । आफ्नै व्यवसायमा चुनौतीपूर्ण अवस्था छ, जिल्लाभरीको व्यवसाय क्षेत्र उकास्नुपर्ने कुरा झन ठुलो चुनौतीपूर्ण हो ।
मैले सात वर्ष अगाडीको एउटा व्यवसाय त अहिले बन्द गरीसकें । यसो भन्दैमा म रोकिएर त बसिन । व्यवसाय, उद्योग क्षेत्रको गुण भनेकै चुनौतीलाई स्वीकार गरेर अगाडी बढ्नु हो । चुनौतीलाई स्वीकार गर्न सकिएन भने व्यवसायी बन्न सकिन्न ।
एउटा उखान छ नि, परी परी आउँछ, तरी तरी जान्छ ।’ मेरो अनुभव पनि यहि हो, गरेर जानुपर्ने पनि यहि हो । मिहिनेत गर्न भने छोड्नुहुन्न ।
हरेक परिस्थितीमा आशावादी र सकारात्मक रहँदै मिहिनेत गरीरहनु पर्छ, प्रयास गरिरहनुपर्छ । कुन समयम सफल भइन्छ, उपलब्धी हासिल हुन्छ भन्न नसकिएला । तर एउटा समयमा त लक्ष्ममा पुगिन्छ नि । होला, मेरै कार्यकालमा उपलब्धि हात नपर्ला तर, पाइला अगाडी बढाइयो भने कुनै समयमा त लक्ष्यमा पुगिन्छ नि, विजारोपण त भयो नि ।
राज्यले व्यवसायीहरुलाई साथ दिएन, संकटमा झन पेल्ने काम भयो भन्ने आवाज उठीरहन्छ । यस्तो अवस्थामा निराश भएका व्यवसायीहरुलाई कसरी प्रोत्साहित गर्नुहुन्छ त ?
अहिलको अवस्थामा सबैभन्दा महत्वपूर्ण प्रश्न यहि भयो । समस्याको जड भनेको सरकारी पक्ष नै हो । सरकारी पक्ष भन्नाले सरकार वा सरकारमा आवद्ध राजनीतिक दल मात्र होइन, स्थायी सरकार भनिने कर्मचारीतन्त्र पनि हो ।
व्यवसायी, सरकार र कर्मचारीतन्त्र बीचको द्वन्द्व, व्यक्तिगत भावना, राजनैतीक दलका नेताहरुको व्यक्तिगत मुद्दादेखि लिएर त्यसको प्रभाव राजनैतीक नियुक्ति पाएका अधिकृत, कर्मचारी नै समस्याको जड हो ।
जहाँ समस्या छ, त्यहाँ उपचार त गर्नुपर्यो नि । समस्या समाधानका लागि हामीले सक्ने भनेको सम्वाद हो, त्यसपछि भएन भने विरोध कार्यक्रम नै हो । ‘अब तिमी परिवर्तन हुनुपर्छ’ भनेर सशक्त ढङ्गले आवाज उठाउन नसक्नु व्यवसायीहरुको कमजोरी भने हो । आवश्यक ढङ्गले दवाब दिन सकेन ।
अहिले भनेको व्यवसायीहरुले संगठित, एकत्रित आवाज उठाउपर्ने अवस्था हो ।
नेपाल चेम्बर अफ कमर्शको जिल्ला संगठन, नेपाल उद्योग वाणिज्य महासंघ र त्यसका जिल्ला संगठन, साना तथा मझौला उद्योग महासंघ, घरेलु उद्योग महासंघ लगायत उद्यमी, व्यवसायीहरुको थुप्रै संगठनहरु छन् । अनि आवश्यक निकाय वा तहमा आफ्नो आवाज पुर्याउन नसकेको कसरी हो ?
यो एकदमै सहि कुरा हो । संगठन धेरै छन्, तर सबैको आवाज संगठित हुन सकिरहेको छैन । प्रयास पनि भइरहेको छ । समस्याको समाधानमा पुग्न आवश्यक प्रयास नपुगेको भने पक्कै हो । जिल्ला स्तरमा सबैलाई एकजुट बनाउन मेरो प्रयास रहनेछ ।
भख्खरै अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा पनि सरकार साथै सम्वन्धित निकायका प्रतिनिधिलाई अतिथिको रुपमा निमन्त्रणा गरीयो र उहाँहरुको उपस्थितीले सम्पर्क पनि स्थापित भयो । अब सबैको संगठित आवाज सरोकारवाला निकायसम्म पु¥याउने दोश्रो चरणको काम हुनेछ ।
यसको लागि संचार माध्यम र संचारकर्मी साथीहरुको सहयोग पनि आवश्यक छ । सरकारलाई आवाज दिनु एउटा पक्ष हो भने यसलाई सबैको सामु पु¥याउन आवाजलाई सशक्त बनाउनका लािग संचारमाध्यमको सहयोगको अपेक्षा छ ।
कुनै औपचारिक कार्यक्रममार्फत कुरा राख्ने, विरोध कार्यक्रमहरु गर्ने, संचारमाध्यमबाट आवाज उठाउने आदि त भइहाल्यो । नेपालमा सडक जाम नगरी सरकारले केही सुन्दैन भनिन्छ नि ?
भन्दै आएको र हुँदै आएको त यस्तै हो । यस्तो किसिमको दवाबको कार्यक्रमले आम सर्वसाधारणमा नकारात्मक प्रभाव त पर्छ तर नतिजा चाँडै आउँछ ।
नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय जगतमै यस्तै छ । अमेरिकाको राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गर्ने बेलामा ह्वाइटहाउसमै गएर ट्रम्पका समर्थकहरुले कसरी आक्रामक ढङ्गले विरोध प्रदर्शन गरे हामीले देखिहाल्यौं । अमेरिकामा पनि यस्तै रहेछ भन्ने एउटा राम्रो उदाहरण यहि होला ।
तर यस्तो विरोध प्रदर्शनप्रति आम नागरिकमा छवि त खराबै छ । यसबाट हुने व्यापार घाटा सहने पनि व्यापारीवर्गले नै हो । डाक्टर, शिक्षक सबै सडकमा उत्रिसके, तर हामी सकेसम्म त्यहाँसम्म जानेछैनौं तर हुँदै नभए त अन्तिम उपाय यहि नै हो ।
अन्तिममा समाचारडेस्कका पाठकका लागि के सन्देश दिन चाहनुहुन्छ ?
अचेल युवाहरु विदेश पलायन भयो भन्ने कुरालाई लिएर देशको व्यवस्थाप्रति नै नकारात्मक विचार बन्दै गएको पाएको छु । देशमा भख्खरै त संघीयता आएको छ, संघीयताले पूर्णता नै पाउन सकेको छैन । भख्खर बामे सरेको बच्चाको अवस्थामा रहेको प्रणाली वा व्यवस्थालाई गाली गरेर समस्या समाधान हुन्न, धैर्यता अलि हुनुपर्यो ।
पहिलाको व्यवस्था त हामीले त्यत्रो वर्ष अभ्यास गरिसक्यौं त । के भयो ? यहाँ पनि विकास नभएको त होइन नि तर, बाहिर देशको विकासको गति तीव्र भयो, हामी सुस्त भयौं । हामी अरु भन्दा पछाडी परेको मात्र हो, हामी ध्वस्तै भएका छैनौं ।
संघीयतालाई दोष दिने हो भने, ल संघीयता खारेज भयो वा छैन रे । के हामी बाहिरी देशको गतिमा अगाडी बढ्न सक्छौं त ? यो अर्थ राजनितीको समस्या हो । राजनीति र आर्थिक क्षेत्रलाई सँगै डोर्याउन सके हामीले पनि विकासमा फड्को मार्न सक्छौं । आउनुस्, हामी सँगै मिलेर अगाडी बढौं, देशलाई विकासको मार्गमा डो¥याउँ । धन्यवाद ।
Categorized in बिजनेस