arin enterprises

साविक विजेता मुम्बईले नै जित्यो पाँचौ पल्ट उपाधी

SamacharDesk – बिकाश | २०७७ कार्तिक २६, बुधबार

इण्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वेन्टी क्रिकेटको १३औं संस्करणको उपाधी पनि साविक विजेता मुम्बई इन्डियन्सले नै उचालेको छ ।

गए राती युएईको दबुई इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न फाइनल खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै मुम्बईले ५औं पटक उपाधी हात पारेको हो ।

हिजो रातीको खेलमा मुम्बईले दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो अनि समग्रमा पाँचौ पटक उपाधि जितेको हो ।

पहिलो पटक फाइनल खेलेको दिल्लीले भने उपविजेतामै सिमित बन्न वाध्य भयो ।

खेलमा दिल्लीले दिएको एक सय ५७ रनको लक्ष्य मुम्बईले १८ ओभर ४ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।

टिमलाई ५औं उपाधी जिताउन रोहितको ६८ रन महत्वपूर्ण बन्यो । ५१ बलमा ५ चौका र ४ छक्का हान्दै उनले अर्धशतकीय इनिङ्स खेलेका थिए ।

१९ बलमा ३ चौका र १ छक्का हानेर ३३ रन बनाउँदै इशान कसन अविजित रहे । क्वान्टन डी ककले २० र सूर्यकुमार यादवले १९ रनको योगदान दिए ।

दिल्लीकातर्फबाट एनरिच नोकियाले २ विकेट लिए भने कागिसो रबाडा र मार्कोस स्टोइनिसले १/१ विकेट ढाले । योसँगै रबाडा २०२० को आइपिएलमा सर्वाधिक ३० विकेट लिने बलर बनेका छन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस इयर ६५ रनको योगदान दिँदै नटआउट रहे । उनले ५० बलमा ६ चौका र २ छक्का हान्दै ६५ रन जोडेका थिए । ऋषभ पन्तले ३८ बल खेल्दै ४ चौका र २ छक्काको मद्दतले ५६ रनको योगदान दिए ।

दिल्लीको शुरुवात भने खराब भएको थियो । ओपनर मार्कोस स्टोनिस पहिलो बलमै आउट भए । तेस्रो ओभरसम्म आइपुग्दा अजिन्का राहाणे २ रनमा र शिखर धवन १५ रन बनाउँदै आउट भए ।

दबाबमा परेको दिल्लीका लागि पन्त र श्रेयसले चौथो विकेटका लागि ९६ रनको साझेदारी गर्दै टिमलाई केही सम्हालेका थिए । तर पनि पहिलो पटक उपाधी जित्दै ईतिहास रच्ने दिल्लीको सपना भने पुरा हुन सकेन ।

बलिङमा मुम्बईका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिए भने नाथन नाइलले २ विकेट र जयन्त यादवले १ विकेट लिए ।

यो उपाधी जितेसँगै आइपिएलको ईतिहासमा मुम्बई सबैभन्दा बढि उपाधी जित्ने टिम बनेको छ । मुम्बईले पहिलो पटक २०१३ मा उपाधी जितेको थियो भने २०१५, २०१७ र २०१९ उपाधी उचालिसकेको छ ।

Categorized in स्पाेर्ट्स