इटालियन सि.रि.ए. जुन १३ देखि सुरु गर्ने तयारी
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ १, बिहिबार

युरोपको शीर्ष पाँच लिग मध्ये एक इटालियन सिरी–ए, आगामी १३ जुनबाट सुचारु गर्ने तयारी शुरु भएको छ ।
भिडियो कन्फरेन्स मार्फत लिग समितिको बुधबार बसेको बैठकले १३ जुनको नयाँ मिति तय गरेको हो ।
इटालीको सरकारले स्वीकृति नदिएसम्म भने लिग शुरु गर्न पाइनेछैन ।
सरकारले लिग सुचारु गर्न स्वीकृति दिए १३ जुनबाट सिरी–ए सुचारु गर्ने योजनामा लिग समिति जुटेको हो ।
लिगको जनरल एसेम्बलिले सरकारको निर्णय र मेडिकल प्रोटोकल अनुसार लिग फेरि सुरु गर्ने मिति बारे निर्णय गरेको बीबीसीले जनाएको छ ।
मेडिकल प्रोटोकल अनुसार कुनै टिमको एक खेलाडी वा स्टाफ मात्रैमा कोभिड–१९ पोजिटिभ देखिए पूरै टिम नै दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने छ ।
लिगमा आबद्ध सम्पूर्ण क्लबहरुले सरकारले तोकेका सम्पूर्ण नियमहरु पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
इटालियन सि.री.ए को शीर्ष डिभिजनका क्लबहरु मे महिनादेखि ट्रेनिङमा फर्किएका छन् । यसअघि खेलाडीले व्यक्तिगत रुपमा मे ४ देखि प्रशिक्षण सुरु गरेका थिए ।
टिमले मे १८ देखि प्रशिक्षण गर्न पाउँदैछन् ।
सि.रि.एका खेलहरु गत मार्च ९ देखि रोकिएका थिए । लिगमा अझै १२ राउन्डका खेल बाँकी छन् ।
शीर्ष स्थानको युभेन्ट्सले दोस्रो स्थानको लाजियोसँग १ अंकको अग्रता लिएको अवस्थामा लिग स्थगित भएको थियो ।
कोरोनाभाइरस महामारीका कारण विश्वभरका बहुचर्चित लिगहरु स्थगित गरिएका थिए ।
कोभिड–१९ कै कारण फ्रेन्च लिग–वान रद्द भइसकेको छ ।
यस्तै इंग्ल्याण्डको प्रिमियर लिग जुन १ पछि सुरु गर्ने तयारी भइरहेको छ भने स्पेनिस ला लिगा पनि जुनको दोस्रो साताबाट सुरु गर्ने तयारी भइरहेको छ ।
Categorized in स्पाेर्ट्स