arin enterprises

युरोपेली पर्यटकको लागि इटाली खुल्ला

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ २१, बुधबार

इटाली युरोपेली पर्यटकका लागि खुलेको छ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वकै छैठौँ प्रभावित देश इटाली युरोपेली पर्यटकका लागि गर्मीयाम सुरु भएसँगै छुट्टी मनाउन खुला गरिएको हो ।

लकडाउनका कारण संकटग्रस्त अर्थतन्त्र उकास्न युरोपेली पर्यटकहरु मूल आधार बन्न सक्ने भन्दै इटालीले बुधबार देखि पर्यटन क्षेत्र सुचारु गरेको हो ।

युरोपेली नागरिकलाई आफ्नो देशमा आकर्षित गरी पर्यटन व्यवसायलाई पुनर्जीवित गराउन सकिने विश्वास ईटालीले लिएको छ ।

यूरोपेली पर्यटकहरुलाई आकर्षित गर्न यहाँका शहरहरुको विशेषता उल्लेख गर्दै विभिन्न नाराहरु समेत सार्वजनिक गरिएको छ ।

‘हाम्रो सहरमा रोमियो र जुलियटजस्तै गरेर भेरोनाको बाल्कोनीबाट प्रेममय फोटो खिच्न सकिन्छ, सेल्फी खिच्न पाइन्छ, रोमियो र जुलियट बन्न सकिन्छ’ भेरोना सहरमा यस्तो भनिएको छ ।

त्यस्तै भेनिस सहरमा पनि ‘भेनिसका नहरहरुमा पानीसितको आनन्द लिन पाइन्छ, जलचरहरु प्रत्यक्ष देख्न पाइन्छ’ भन्दै पर्यटक तान्ने प्रयास गरिएको छ ।

इटालीको दक्षिणी समुद्री किनार कालाब्रियाका गभर्नर जोले सान्तेलीले ‘कालाब्रिया आउनुभयो भने यहाँको बालुवामा सुतेर, खेलेर मज्जा लिन पाइन्छ’ भन्दै इटालीमा पर्यटक तान्ने होड सुरु भएको उल्लेख गरेका छन् ।

स्थानीय संचारमाध्यमले इटालीको प्रमुख पर्यटकीय क्षेत्र रोमका १ हजार २ सय होटलमध्ये ४० वटा खुला भएको जनाएको छ ।

इटालीको होटल एसोसिएसनका उपाध्यक्ष मार्को मिसिएलीले होटलवालाहरु सबैले आफ्नो व्यवसाय खुला गर्न चाहेको तर छिमेकीसँगको सीमा र अन्तर्राष्ट्रिय उडान सुचारु नभएसम्म पर्यटक नआउने भनेका छन् ।

केही समय यता संक्रमणलाई नियन्त्रण गर्न सफल देखिएपनि कोरोना महामारीका कारण इटाली अझै मानिस शोकमा डुबेको बताइएको छ ।

इटालीयन सरकारले भाइरसको दोस्रो लहर फैलिएमासबै क्षेत्रहरु पुनः बन्द गर्न सक्ने सूचना पनि जारी गरेको छ । 

इटालीमा हालसम्म २ लाख ३३ हजार ८ सय ३६ जना संक्रमित छन् । तीमध्ये १ लाख ६० हजार ९ सय ३८ जना निको भएका छन् भने ३३ हजार ६ सय १ जनाले ज्यान गुमाएका  छन् ।

Categorized in अन्तर्राष्ट्रिय