स्वास्थ्य मन्त्रालयका प्रवक्ता फेरी, डा. गौतम नयाँ प्रवक्ता
SamacharDesk – विकाश | २०७७ जेठ २५, आइतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता फेरिएका छन् । मन्त्रालयका नयाँ प्रवक्ताको जिम्मेवारी डा. जागेश्वर गौतमले पाएका छन् ।
यस अघि परोपकार प्रसूती गृह तथा स्त्री रोग अस्पतालका प्रमुखको जिम्मेवारीमा रहेका डा. गौतम हालै मात्र स्वास्थ्य मन्त्रालय सरुवा भई आएका थिए ।
गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको हो ।
मन्त्रालयका यसअघिका प्रवक्ता डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको छ ।
डा. देवकोटा कोरोना महामारी सुरु हुनुअघिदेखि मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा थिए ।
लकडाउनको शुरुवाती दिनदेखि नै मन्त्रालयको नियमित प्रेस व्रिफिङमार्फत डा. गौतमले कोरोना महामारी सम्वन्धी जानकारी अद्यावधिक गराउँदै आएका थिए ।
आजको प्रेस व्रिफिङमा बोल्दै डा. देवकोटाले अहिलेसम्म आफुलाई सांकेतिक भाषामा सहयोग गर्ने सहयोगी, संचारकर्मी लगायत सबैलाई कृतज्ञता पोख्नुभयो ।
पछिल्लो समय मन्त्रालयले व्यापक रूपमा कर्मचारी सरूवा र हेरफेर गरेको छ । केही समयअघि मात्रै मन्त्रालयमा नयाँ सचिवको रूपमा लक्ष्मण अर्याललाई ल्याइएको थियो ।
यस्तै स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र विभागकै व्यवस्थापन प्रमुख भोगेन्द्र डोटेललाई पनि मन्त्रालय तानिएको थियो ।
Categorized in राष्ट्रिय