जाजरकोट भुकम्पमा परी अहिलेसम्म १२९ को मृत्यु
SamacharDesk – राम डंगोल | २०८० कार्तिक १८, शनिबार

गएराती जाजरकोट जिल्लाको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भएको छ ।
शनिबार बिहान साढे ८ बजेसम्मको तथ्यांकअनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३७ गरी १२९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । १५० जनाभन्दा बढी घाइते भएका छन् ।
गएराती ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पले जाजरकोट सदरमुकाम खलंगासहित नलगाड गाउँपालिका, बारेकोट गाउँपालिका तथा रुकुमपश्चिमका आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा बढी क्षति पुगेको छ ।
भुकम्पबाट अधिकांश माटोका पुराना घरहरु भत्किएका छन् । भूकम्पले घरहरू भत्किएपछि नागरिकहरू बाहिर चौरमा बसेका छन् । अस्पतालहरू घाइतेले भरिएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।
यसैबीच राष्ट्रिय भूकम्प मापन केन्द्रले शनिबार बिहानसम्म जाजरकोट क्षेत्रमा १०९ वटा भूकम्पका धक्का गएको जनाएको छ ।
त्यसमा राति ११:४७, १२:८, १२:२९, १२:३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, ४.३ म्याग्निच्युडका भूकम्प गएको जनाएको छ ।
Categorized in राष्ट्रिय