सेतो मच्छिन्द्रनाथको ‘धलिं लुइगु’ सम्पन्न
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ पौष २६, सोमबार

आज पौष शुक्ल अष्टमी । आजको दिनमा पानी पर्छ भन्ने विश्वास समाजमा छ । हरेक वर्ष आजको दिनमा पानी परीरहेकै छ । केही छिन फाट्टफुट्ट नै किन नहोस्, आजको दिन पानी परी नै रहेको छ ।
आजको दिनमा काठमाडौंको मच्छिन्द्रबहालस्थित सेतो मच्छिन्द्रनाथको मूर्तिलाई महास्नान गराइन्छ । यसलाई स्थानीय भाषामा ‘जनबहाःद्यःया धलिं लुइगु’ भनिन्छ । यहि धलिं लुइगु क्रममा आजको दिन पानी पर्ने अथवा भनौं वर्षा हुनुपर्ने जनविश्वास छ ।
आज पनि काठमाडौंको मच्छिन्द्रबहाल अर्थात जनबहालमा सेतो मच्छिन्द्रनाथलाई ‘धलिं लुइगु’ परम्परा सम्पन्न गरिएको छ । यसै क्रममा आज पनि दिउँसो केही बेर वर्षा पनि भयो नै । यसलाई दैवी शक्ति नै मानौं अथवा संजोग ।
वर्षेनी चलिआएको परम्परा अनुसार सेतो मच्छिन्द्रनाथको ‘धलिं लुइगु’ कर्म आज वसन्तपुरको कुमारीबाट अवलोकन भएको थियो ।
शाब्दिक अर्थमा भन्नुपर्दा धलिं लुइगु भनेको दहिले नुहाइदिनु हो । यस अर्थमा आजको दिनमा सेतो मच्छिन्द्रनाथलाई दहिले नुहाइदिने गरिन्छ । तर यो कर्म अन्तर्गत दहि मात्र होइन, दहिसँगै दुध, मह, सख्खर घ्यू आदिसमेत गरी पंचामृतले नै स्नान गराइन्छ ।
‘धलिं लुइगु’ कर्मका लागि शोभाभगवतीको भचाखुसिमा पवित्र जल ल्याउने गरिन्छ । भचाखुसिबाट गाग्रीमा भरेर हिजै जल ल्याइएको थियो ।
आज धलिं जुइगु कर्म सम्पन्न भएसँगै भोलि देवतालाई घाममा राखिन्छ भने त्यसपछि देवताको मूर्तिको आवश्यकता अनुसार मर्मत आदि गरी रंगरोगनसमेत गर्ने गरिन्छ । यसलाई स्थानीय भाषामा ‘लंपुं छायेगु’ भनिन्छ ।
यसपछि सेतो मच्छिन्द्रनाथको रथयात्राको लागि जमलस्थित तीनधारा पाठशालामा रथ निर्माण लगायतका कार्य शुरु गरिन्छ ।
चैत्र शुक्ल अष्टमीका दिन जमलबाट रथ तान्दै सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु गरिन्छ ।
मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताको रुपमा लिइन्छ । मच्छिन्द्रनाथको जात्रा विना विघ्नवाधा सम्पन्न भएमा वर्षा राम्रो भई बालीनालीसमेत राम्रो हुने जनविश्वास रहि आएको छ ।
काठमाडौंमा सेतो मच्छिन्द्रनाथको जात्रा मनाइन्छ भने ललितपुरमा रातो मच्छिन्द्रनाथको रथयात्रा गरिन्छ ।
काठमाडौं उपत्यकामा विशेष गरी चार करुणामय अथवा मच्छिन्द्रनाथलाई विशेष महत्वका साथ पूजा आराधना गरिन्छ ।
काठमाडौंको सेतो र ललितपुरको रातो मच्छिन्द्रनाथसँगै नाला करुणामय सेतो मच्छिन्द्रनाथ चोभारको रातो मच्छिन्द्रनाथलाई यहाँका स्थानीय वौद्ध र हिन्दु धर्मावलम्बीहरुले मान्दै आएका छन् ।
फोटो ग्यालरी : सेतो मच्छिन्द्रनाथ ‘धलिं लूगु’ फोटो फिचर
Categorized in संस्कृति