जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढीलाई ठगी
SamacharDesk | २०८१ बैशाख २१, शुक्रबार

जापान पठाइदिने प्रलोभनमा पारी ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले दुई सय भन्दा बढी मानिसहरुबाट २ करोड ६८ लाख ठगी गरेको प्रहरीले बताएको छ । शुक्रवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गर्दै उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् ।
उनीहरुले दीपबहादुर तामाङमार्फत १३ जनाबाट ३७ लाख, सुनिलकुमार नेपालीमार्फत २० जनाबाट ३२ लाख, वैदेशिक रोजगार विभागमा अन्य करिव १०० जनाबाट २ करोड ६८ लाख ठगी गरेको उजुरी परेको पत्रकार सम्मेलनमा बताइएको छ ।
त्यस्तै निज राजन श्रेष्ठलाई वैशाख २० गते काठमाडौं जि. कागेश्वरी मनहरा न.पा. वडा नं. ७ बाट र ईश्वरी पाण्डेलाई काठमाडौं कामनपा २९ बाट नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध