arin enterprises

जापानी विदेशमन्त्री कामिकावा नेपाल आउने

SamacharDesk | २०८१ बैशाख २३, आइतबार

जापानकी विदेशमन्त्री कामिकावा योको एक दिने नेपाल भ्रमणमा लागि आज नेपाल आउने भएको छ ।

जापानबाट नेपालमा सन् २०१९ पछि छ वर्षको अन्तरालमा यो उच्चस्तरीय भ्रमण हुन लागेको हो । सन् २०१९ मा जापानका तत्कालीन विदेशमन्त्री तारो कोनोले नेपालको दुईदिने भ्रमण गर्नुभएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार जापानी विदेशमन्त्री कामिकावाले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

साथै उहाँले आजै उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षीय भेटवार्ता गर्नुहुनेछ । विदेशमन्त्री कामिकावा आजै स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानका विदेशमन्त्री योको नेपाल भ्रमणमा आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा दुई देशबिचको आपसी सम्बन्ध विस्तारसँगै थप केही सम्झौता हुने सम्भावना रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानको प्रभावशाली नेतृत्वका रूपमा उदाउनुभएकी विदेशमन्त्री योको जापानको तेस्रो महिला विदेशमन्त्री हुनुहुन्छ ।

सन् २००७ मा तत्कालीन प्रधानमन्त्री सिन्जो आबेको सरकारमा उहाँ पहिलो पटक लैङ्गिक समानता तथा सामाजिक मामिला राज्यमन्त्री हुनुभएको थियो ।

त्यसपछि सन् २००८ मा यासुओ फुकादा प्रधानमन्त्री हुँदा सार्वजनिक तथ्याङ्क व्यवस्थापन तथा राष्ट्रिय अभिलेखालयमन्त्री हुनुभयो ।

त्यसपछि सिन्जो आबेकै दोस्रो कार्यकालको सरकारमा उहाँले चार पटक र सन् २०२० मा प्रधानमन्त्री योसिहिदे सुगाको कार्यकालमा एक गरी पाँच पटकसम्म न्यायमन्त्रीको पदभार सम्हाल्नुभयो ।

सन् २०२१ मा नयाँ प्रधानमन्त्री फुमियो किसिदाको कार्यकाल सुरु भएयता उहाँ गत वर्ष जापानको विदेशमन्त्रीमा नियुक्त हुनुभएको हो ।

Categorized in राष्ट्रिय