गुठीलाई स्वायत्त बनाइनुपर्ने जसपाको माग
SamacharDesk – विकाश | २०७७ आषाढ ५, शुक्रबार

काठमाडौंका गुठीहरुलाई स्वायत्त र स्वशासित बनाइनुपर्ने माग जनता समाजवादी पार्टी नेपाल काठमाडौं महानगर समिति (ससफो) ले दोहोर्याएको छ ।
गुठी विधेयक विरुद्ध गत वर्ष असार ४ गते माइतीघर मण्डलामा भएको वृहत प्रदर्शनको स्मरण गर्दै समितिले विज्ञप्ती जारी गरी यहाँको स्थानीय गुठीमा कुनै पनि किसिमको हस्तक्षेप, परिवन्द एवम् सर्तहरु मान्य नहुने जनाएको छ ।
गुठी एउटा परम्परा मात्र नभई काठमाडौं उपत्यकाका नेवार समुदायको धर्म, सँस्कृति र जीवनसँग समेत जोडिएको प्रथाजन्य कानून भएको समितिले जनाएको छ ।
गुठीको अन्त्य भनेकै नेवाः समुदायको अन्त्य भएको भन्दै समितिले नेवाः पहिचानका विषय सम्वन्धित सबैले मनन् गर्न समेत समितिले भनेको छ ।
गुठीलाई स्वायत्त र स्वतन्त्र बनाउन भएको आन्दोलनमा समितिको ऐक्यवद्धता भएको र रहिरहने जनाएको छ ।
गुठी विधेयक विरुद्ध गत वर्ष भएको विशाल जनप्रदर्शनको स्मरण गर्दै समिति सम्वद्ध प्रत्येक वडा समितिले प्ले कार्ड, व्यानर प्रदर्शन गर्दै दिप प्रज्वलन गरेको थियो ।
