रोनाल्डोको २ गोलले पनि जिताउन सकेन युभेन्ट्सलाई
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २८, आइतबार

इटालियन सिरि ‘ए’ अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्ट्स बराबरीमा रोकिएको छ ।
लिगको शीर्ष स्थानमा रहेको युभेन्ट्सलाई तेस्रो स्थानको एटलान्टाले २–२ गोलको बराबरीमा रोकेको हो ।
बिना दर्शक आलिएन्ज स्टेडियममा खेलाइएको खेलमा युभेन्ट्सको लागि दुवै गोल क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गरेको थियो ।
खेलको १६ औं मिनेटमा एटलान्टाले अग्रता लिएको थियो । दुवान जापाटाले गोल गर्दै एटलान्टालाई अगाडी लगे ।
५५ औं मिनेटमा युभेन्ट्सले पाएको पेनाल्टीमा स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
८०औं मिनेटमा एटलान्टाका रुस्लान मालिनोभस्कीले गोल गर्दै टिमलाई फेरी २–१ ले अगाडी बढाए ।
तर यो अग्रता १० मिनेटमात्र कायम हुन सक्यो । खेलको ९०औं मिनेटमा युभेन्ट्सले अर्को पेनाल्टी पायो र क्रिस्टियानो रोनाल्डोले पेनाल्टीको सदुपयोग गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।
लिगको अन्य खेलमा दोस्रो स्थानको लाजियोलाई सासउलोले २–१ गोलले हराएको छ । लाजियोको हारबाट उपाधि दौडमा रहेको युभेन्ट्सलाई भने फाइदा पुगेको छ ।
लिगमा युभेन्ट्सले ३२ खेलबाट ७६ अंक जोडेको छ भने दोस्रो स्थानको लाजियोको समान खेलमा ६८ अंक छ । एटलान्टा ३२ खेलबाट ६७ अंक जोडेर तेस्रो स्थानमा छ ।
Categorized in स्पाेर्ट्स