arin enterprises

ज्यापु महागुथि महानगरको स्वास्थ्य शिविर सम्पन्न

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ चैत्र ६, आइतबार

ज्यापू महागुथि काठमाडौ महानगर समिति अन्तर्गतको स्वास्थ्य बिभागले ज्यापु समुदायका गृहिणीहरुलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

समितिले गत चैत्र ५ गते शनिबार महिला तथा स्त्रीरोग सम्वन्धि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । शिबिरमा २६ बर्ष देखि ५७ बर्ष उमेर समूहका ३२ जना महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

ज्यापु समुदायको ६३ टोलमध्ये दथु लागा (मध्य भाग) का टोलका महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

शिविरमा सहभागी महिलाहरुमध्ये झण्डै ७० प्रतिशतमा पाठेघरमा सिस्ट देखिएको डा. अन्जना डंगोलले बताइन् ।शिविरमा स्वास्थ्य परिक्षण गरेकी डा. डंगोलले पाठेघर निकालिसकेकी दिदीबहिनीहरुमा समेत संक्रमण देखिएको जानकारी गराउनुभयो ।

‘प्राय गृहिणीहरु नियमित स्वास्थ्य परिक्षण नै गराउन गइरहेका हुन्नन्, फेरी त्यसमा पाठेघर निकालीसकेको अवस्थामा संक्रमण हुन्न भन्ने भ्रम रहेको छ’, डा. डंगोलले भनिन् ।

ज्यापु समुदायभित्र प्राय गृहिणीहरु घरभित्रै सिमित रहने र स्वास्थ्य जाँच गराउने बानी नभएको अवस्थालाई हेरी शिविरको आयोजना गरेको समितिका संयोजक श्यामकृष्ण प्रजापतिले बताए ।

‘प्राय नेपालीहरु, अझ त्यसमा पनि गृहिणीहरुमा त समस्या नआई डाक्टरकोमा नजाने बानी छ, गृहिणीहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन साथै समाजको चेतनाको विकास गर्न हामीले शिविरको आयोजना गरेका हौं’ संयोजक प्रजापतिले भने ।

स्वर्गीय रामबहादुर डंगोलको स्मृतिमा उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।

समितिले यस अघि गएको फागुन २१ गते पहिलो शिविरको आयोजना गरेको थियो । पहिलो शिविरमा ६३ टोलमध्ये क्वःने (तल्लो) भेगका महिलाहरुको सहभागीता रहेको थियो । उक्त शिविरमा २२ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो ।

स्वस्थ्य समाजको निर्माण गर्न यस किसिमका शिविरलाई निरन्तर आयोजना गर्दै जाने समितिले जनाएको छ ।

फोटो ग्यालरी : ज्यापु महागुथि काठमाडाैंकाे स्वास्थ्य शिविर फाेटाे फिचर
Categorized in समाज