arin enterprises

विदेशी पर्यटकहरुसहितको सहभागीतामा ज्यापु समाजको फागु कार्यक्रम हुँदै

SamacharDesk – बिराज | २०८० चैत्र ८, बिहिबार

पाटनको ज्यापु समाजले यस वर्ष पनि होलिको अवसरमा ‘वृहत फागु पुन्हि’ कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

पाटनका ज्यापु समुदायको छाता संगठन ज्यापु समाजले आउँदो चैत्र ११ गते आइतबारका दिन कार्यक्रमको आयोजना गर्न लागेको हो ।

विभिन्न सांस्कृतिक झाँकीसहित मंगलबजारबाट शुरु भई नगर परिक्रमा गरिने कार्यक्रम ललितपुरको भिंद्यःलाछि टोलमा सम्पन्न हुने समाजले जनाएको छ ।

यस अघि कार्यक्रमको औपचारिक शुभारम्भ मंगलबजारबाट हुने कार्यक्रम संयोजक दिनेश महर्जनले जानकारी दिए ।

‘मंगलबजारमा एक औपचारिक कार्यक्रमका बीच ‘बृहत फागु पुन्हि’ कार्यक्रमको शुभारम्भ गरिनेछ । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हित बहादुर तामाङ्गज्यूको उपस्थिती रहनेछ’ कार्यक्रम संयोजक महर्जनले जानकारी दिए ।

मंगलबजारमा करीब आधा घण्टा जतिको औपचारिक कार्यक्रम हुने र त्यसपछि सांस्कृतिक झाँकीसहित होलि खेल्दै नगर परिक्रमा गरिने बताइएको छ । ज्यापु समाजका कलाकारहरुबाट सांस्कृतिक प्रस्तुति दिइने महर्जनले बताए ।

‘साँस्कृतिक झाँकीसहित र्‍यालीले नगर परिक्रमा गर्नेछ । र्‍यालीमा ज्यापु समाजकै सय भन्दा बढि कलाकारहरुबाट नृत्य, धिमेय् वादन र गीतहरु प्रस्तुत गरिने कार्यक्रम छ’ महर्जनले जानकारी दिए ।

कार्यक्रममा करीब हजार जनाको सहभागीता रहने  र करीब सय जना विदेशी पर्यटकहरुबाट समेत सहभागीता जनाइने समाजले बताएको छ ।

Categorized in समाज
SKIP THIS buddhan jayanti 2082