कार्तिक नाच आजवाट सुरु हुँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक १३, आइतबार

नेपालको प्रसिद्ध मल्लकालीन कार्तिक नाच आजबाट सुरु हुँदैछ । आजबाट सुरु गरिने कार्तिक नाच ललितपुरको मंगलबजारको कार्तिक डबलीमा आउँदो दश दिनसम्म प्रदर्शन गरिनेछ ।
कार्तिक नाचको मुख्य आकर्षणको रुपमा लिइने नृसिं अवतारको नाच भने आउँदो २० गते आइतबारका दिने प्रदर्शन गरिनेछ । आज नाचको पहिलो दिन भक्त सुरदासको कथा प्रस्तुत गरिन लागिएको छ ।
आज बेलुकी ७ बजेबाट भक्त सुरदासको नाटक प्रदर्शन सुरु हुने कार्तिक नाच प्रवन्ध समितिले जनाएको छ ।
राजा सिद्धिनरसिंह मल्लले वि.स १६९७ मा आफ्ना शिक्षा गुरु हरिवंश राजोपाध्याय र दिक्षा गरु विश्वनाथ राजोपाध्यायको सहयोगमा यो कार्तिक नाच सुरु गरेको बताइन्छ ।
तत्कालीन समयमा मधुकैटव वध, बराह नाच, नृसिंह नाच, वस्त्रहरण लिला र दधि लिला गरि ५ दिनको नाच सुरु गरिएको थियो । सिद्धिनरसिंहका छोरा राजा श्रीनिवास मल्लले १७२३ मा बाथः प्याखंसमेत गरी ७ दिन थपेर १२ दिन चलाए ।
श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले भने उषाहरण लीला र माधवान लीला नाच पनि जोड्दै १५ दिन थपेर २७ दिन नाच्ने चलन चलाए ।
यो क्रम वि.सं. २००६ सालसम्म चल्यो । २००८ सालदेखि २०३७ सालसम्म गरी २९ वर्षसम्म बराह नाच र नरसिंह नाच गरि मात्र प्रदर्शन गरी दुई दिन मात्र सञ्चालन गरियो ।
वि.सं. २०३८ मा कात्तिक नाच प्रबन्ध समिति गठन भएपछि भने सो समितिले प्रत्येक वर्ष कात्तिक महिनामा आठ दिन सो नाच सञ्चालन हुँदै आएको छ ।
कुनै समय कार्तिक महिना भरी २७ दिन संचालन हुने यो नाच हाल हाएर विभिन्न समस्याको कारण दश/बार्ह दिनमा सिमित भएको छ ।
नाच प्रदर्शन गरिने दिनको संख्यामा थपघट हुँदै आएपनि यो नाच हालसम्म एक पटक पनि नरोकी निरन्तर हुँदै आएको प्रवन्ध समितिको दावी छ ।
