arin enterprises

रहेनन् ४८ वर्ष लगातार बराह बनेका केशव कृष्ण

SamacharDesk – रक्षण राजाेपाध्याय | २०८१ मङ्सिर १६, आइतबार

कार्तिक नाचका गुरु केशव कृष्ण श्रेष्ठको निधन भएको छ ।

कार्तिक नाचमा लगातार ४८ वर्षसम्म बराहको भूमिका निर्वाह गर्ने श्रेष्ठको हिजो (शनिबार) राती निधन भएको हो । हिजो बेलुकी करीब ८ बजे उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।

हर्नियाको समस्या भएका उनलाई उपचारको लागि वि एन्ड वि अस्पतालमा लगिएको थियो । करीब १० दिन अघि बि एन्ड बि अस्पतालमा भर्ना गरेर उनको हर्नियाको शल्यक्रिया पनि भएको थियो ।

पछि उनको स्वास्थ्यमा समस्या बढ्दै गएपछि आइसीयूमा राखेर उपचार गरिँदै थियो । अन्तिम अवस्थामा पुगेपछि उनलाई हिजो शनिवार पशुपति आर्यघाट लगिएको थियो भने पशुपति आर्यघाटमै श्रेष्ठले अन्तिम सास लिएका थिए ।

उनको दाह संस्कार पशुपति आर्यघाटमा हिजै सम्पन्न भइसकेको छ । उनलाई ज्येष्ठ सुपुत्र अनिल कृष्ण श्रेष्ठले दागबत्ती दिएका थिए ।

उनकाे परिवारमा दुई छोरा र एक छोरी छन् ।

स्वर्गीय श्रेष्ठको जन्म १९९६ साल भाद्र १ गतेका दिन भएको थियो । उनले  कार्तिक नाचमा वि.सं. २०१४ सालदेखि २०६२ सालसम्म लगातार बराहको भूमिका निर्वाह गरे ।

२०५८ सालदेखि उनले कार्तिक नाचको मूलगुरुको भूमिका पनि निर्वाह गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस्ः ४८ वर्षसम्म लगातार बराह बनेका केशव कृष्ण श्रेष्ठ

Categorized in संस्कृति