arin enterprises

पाटनमा भोलिबाट कात्तिक नाच सुरु

SamacharDesk – विजयरत्न | २०८२ कार्तिक ९, आइतबार

३८४ वर्ष अघि राजा सिद्धिनरसिंह मल्लको पालादेखि निरन्तर चल्दै आएको पाटनको प्रशिद्ध कात्तिक नाच भोलि (सोमवार) बाट सुरु हुने भएको छ ।

पाटन दरवार क्षेत्रमा अवस्थित कात्तिक डबलिमा भोलि कार्तिक शुक्ल षष्ठी (कार्तिक १०) सोमवारबाट कात्तिक नाच सुरु हुन लागेको हो ।

भोलिबाट सुरु हुने कात्तिक नाचमा कार्तिक पुर्णिमा (कार्तिक १९) सम्म दैनिक रुपमा भगवान विष्णुको १७ वटा कथामा आधारित विभिन्न लीला देखाइनेछ ।

सिद्धिनरसिंह मल्लले नेपाल सम्वत ७६१ (वि.सं.१६९७) मा देश र जनताको कल्याणको लागि सुरु गरेको भनिएको यो कात्तिक नाचको वैदीकको साथमा तान्त्रिक महत्व पनि रहेको छ ।

यसलाई नेवाः समुदायमा समावेशी नाट्य परम्पराको रुपमा पनि लिइन्छ , मल्लकालमा कात्तिक नाचमा मैथिली भाषाबाट संवाद रहने गथ्र्यो ।

मैथिली भाषा नेवाः समुदायमा नबुझिने भएपछि पछि आएर नेपाल भाषां अनुवाद गरिएको हो ।

विश्वकै लामो नाट्य परम्परा

यो कात्तिक नाच संसारकै लामो अवधिको नाट्य महोत्सवको रुपमा चिनिएको कात्तिक नाच प्रचारप्रसार समितिका संयोजक साथै कलाकार संजय शर्मा राजोपाध्याय बताउँछन् ।

‘पहिले २७ दिनसम्म देखाइने कात्तिक नाच संसारकै सबैभन्दा लामो अवधिको नाट्य महोत्सव रहेको इतिहासमा उल्लेख छ, अहिले आर्थिक साथै विभिन्न कारणले यो १० दिनमा छोट्याइएको छ’ प्रचार प्रसार संयोजक शर्मा राजोपाध्यायको भनाई हो ।

वि.सं. २००७ सालमा जनक्रान्ति पछि यो नाचलाई छोट्याइयो । वि.सं. २००८ सालदेखि २०३७ सालसम्म एक दिन बराह र भोलिपल्ट नरसिंह अवतार प्रदर्शन गर्ने गरी दुई दिनमा छोट्याइयो ।

कात्तिक नाच प्रबन्ध समिति स्थापना भएपछि वि.सं. २०३८ सालदेखि २०६९ सालसम्म वर्षेनी आठ दिन नाच प्रदर्शन गर्ने थालिएको राजोपाध्यायले जानकारी दिए ।

वि.सं. २०७० सालमा वस्त्रहरण र बौद्ध लीला गरी दुई दिन थप गरेर १० दिन र वि.सं. २०७१ सालदेखि २०७६ सालसम्म १२ दिन प्रदर्शन गर्ने गरियो । वि.सं. २००६ साल पछि भने यो नाच २७ दिन नै चलाउन सकिएको छैन ।

सुरुका सबै लीला प्रदर्शन गर्दै २७ दिन नै चलाउन पूर्व तयारी, अभ्यास, व्यवस्थापान आदि सबैको लागि वर्ष दिन पुरै समय दिनुपर्ने र लामो समय प्रदर्शन गर्न आर्थिक अभाव हुने राजोपाध्यायले भने ।

‘एउटा नाच प्रदर्शन गर्न कम्तिमा २० जना कलाकार चाहिन्छ । यो अहिले नै एक वर्ष प्रदर्शन गर्ने अवस्था तत्कालको लागि छैन । कतैबाट आर्थिक सहयोग पाइए सकिन्छ’ राजोपाध्यायले भने ।

कलाकारहरुलाई उचित पारिश्रमिक दिन नसकिने अवस्थादेखि कलाकारहरु विदेश पलायन हुनु, नयाँ पुस्तामा भाषागत समस्या बढ्दै गएको र सरकारी पक्षबाट पर्याप्त सहयोग नहुनु नै अहिलेको मुख्य समस्या भएको राजोपाध्यायको भनाई हो ।

नाचको संरक्षण र निरन्तरताको लागि प्रवन्ध समितिले संस्थागत रुपंमा १० करोड रुपैयाँको अक्षयकोष स्थापना, कलाकारहरुलाई व्यावसायिक रुपमै अघि बढाउन र नयाँ पुस्तालाई भाषागत प्रशिक्षण दिने लक्ष्य लिएको समितिले जनाएको छ ।

यस वर्ष कात्तिक नाचको तालिका

यस वर्ष प्रदर्शनको क्रममा कार्तिक १० गते सोमवार साँझ ७ बजे भक्त सुरदास प्रदर्शनी गर्ने गरिन्छ । त्यस्तै, ११ गते मंगलवार बाथः प्याखं अन्तर्गत च्वले खुदां दां खुदां, तेश्रो दिन १२ गते, बुधवार बाथः प्याखं अन्तर्गत कौला खिचा प्याखं देखाइनेछ ।

१३ गते बिहीवार युद्ध कलामा विकटाक्षर राक्षस/कामसेन राजा यद्ध, शितज्वर/विष्मज्वर युद्ध, महादेव/कृष्ण युद्ध नाच देखाइनेछ भने १४ गते, शुक्रवार देवी नाच अन्तर्गत द्यःला, कवं, ख्याः, भैरव, कुमारी, महालक्ष्मी नाच देखाइनेछ ।

कार्तिक १५ गते, शनिवार जल शयण अन्तर्गन मधु–कैटव वध, १६ गते, आइतवार बराह अवतारबाट हिरण्याक्ष वध प्रदर्शन गरिनेछ ।

कात्तिक नाचको मुख्य आकर्षणको रुपमा लिइएको नृसिंह अवतारबाट हिरण्यकशिपु बध भने १७ गते, सोमवाः देखाइनेछ ।

१८ गते, मंगलवार वस्त्रहरण लीला र अन्तिम दिन १९ गते बुधवार दधि लीला अन्तर्गत धौ ग्वःप तछ्याइगु नाच देखाइ कात्तिक नाच समापन हुनेछ ।

Categorized in संस्कृति
SKIP THIS tihar2082