arin enterprises

दुई सातापछि काठमाडौंकाे फोहोर उठाउन सुरु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ बैशाख २५, आइतबार

विगत दुई सातादेखि थुप्रिएको फोहोर हिजोबाट पासाङ ल्हामु राजमार्गमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरी फ्याँक्न सुरु गरेको छ ।

सो राजमार्गको मुड्खु भञ्ज्याङदेखि तीनपिप्लेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ३०० सुरक्षाकर्मी तैनाथ गरेर काठमाडौँ उपत्यकामा सङ्कलन गरिएका फोहोर सिसडोल ढुवानी गर्न सुरु गरिएको हो।

दुई सातासम्म पनि फोहोर उठाउन नसकेपछि सिंगै उपत्यका कुरुप देखिनुका साथै सडक, चोक र गल्लीमा थुप्रिएको फोहोरका कारण वातावरण नै दुर्गन्धित बन्न पुगेको थियो ।

वर्षौंदेखि सडक निर्माण हुन नसकेको भन्दै सडक अवरोध गरेका स्थानीयवासीसँगको छलफलमा सहमति जुट्न नसकेपछि बाध्य भएर सुरक्षाकर्मी तैनाथ गरेर फोहोर ढुवानी गर्नुपरेको काठमाडौं महानगरपालिकाले बताएका छन् । वैशाख ११ गतेदेखि पुनः काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य रोकिएको थियो।

सुरक्षाकर्मीकै तैनाथीमै शनिबार फोहोर लिएर डेढ सयवटा ट्रक सिसडोलसम्म पुगेको थियो । उपत्यकामा दुई हप्तादेखि जम्मा भएको फोहोरको व्यवस्थापन गर्न एक हप्ता लाग्न सक्ने महानगरको थहर छ ।

निर्माण कम्पनीले ठेक्का लिएर सडक निर्माण नगर्दा आफूहरू आठ वर्षदेखि धुलो र हिलोको सास्ती भोगेको भन्दै स्थानीयवासीले काठमाडौँको फोहोर सिसडोलसम्म ढुवानी गर्न अवरोध गर्दै आएका छन्।

काठमाडौँ उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने गर्दछ। यसबाहेक सङ्कलन हुन नसकेको फोहोर र स्रोतमा घटाएको फोहोरको मात्रा पनि छ। यसको तथ्याङ्क यकिन छैन।

एक हजार ४५ मेट्रिक टन फोहोरमध्ये सबैभन्दा धेरै काठमाडौँ महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र त्यसपछि ललितपुर महानगर क्षेत्रबाट १३० मेट्रिक टन फोहोर सङ्कलन गरेर ल्यान्डफिल्ड साइटमा पु(याउने गरिएको  छ।

उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहोर सिसडोल ल्यान्डफिल साइटमा पुर्याउने गरिएको छ ।  

Categorized in राष्ट्रिय