अव्यवस्थित तार व्यवस्थापन गर्दै महानगर
SamacharDesk | २०८० बैशाख २५, सोमबार

काठमाडौं महानगरपालिकाले काठमाडौंका अव्यवस्थित तारहरुको व्यवस्थापन कार्य शुरु गरेको छ ।
सोमवार बिहान माईतीघर मण्डला क्षेत्रबाट अव्यवस्थित तार व्यवस्थापन शुरु भएको हो । काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकबीच हिजो भएको छलफलपछि महानगरपालिकाको अगुवाइमा तार व्यवस्थित गर्ने अभियान शुरु भएको हो ।
पहिलो दिन आज माइतीघर मण्डला र नयाँ सडक क्षेत्रमा अव्यवस्थित तार हटाउने काम भइरहेको छ । महानगरपालिकाले इन्टरनेट सेवा प्रदायकहरुलाई १५ दिने सूचना दिँदै अव्यवस्थित तार नहटाए तार काटिदिने चेतावनी दिएको थियो ।
त्यसपछि दूरसञ्चार प्राधिकरणको पहलमा महानगरपालिका र सेवा प्रदायकहरुबीच छलफल भई तार व्यवस्थित गर्न लागिएको हो ।
दूर सञ्चार प्राधिकरणले पनि टेलिफोन र इन्टरनेटलगायतका तार हटाउने तालिकासहितको सूचना जारी गर्दै इन्टरनेट सेवा प्रदायकहरुलाई अनिवार्य उपस्थित हुन भनेको छ ।
यस अभियान अन्तर्गत अनावश्यक तार, झुण्डिएका र गुजुल्टो परेका तार हटाइने छ । जसबाट अहिले देखिने तारको समस्या आधा कम हुने बताइएको छ ।
तार व्यवस्थापन कार्यको शुभारम्भपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा काठमाडौं महानगरपालिकाका महागरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरुसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन शुरु गरिएको र यो अभियान काठमाडौंभरका अव्यवस्थित तार नहटाएसम्म जारी रहने उल्लेख गर्नुभयो ।
उहाँले अव्यवस्थित तारका कारण कतिपय दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि यसले महत्वपूर्ण भुमिका खैल्ने बताउनु भयो ।
Categorized in स्थानीय