arin enterprises

उपत्यकाको फोहोर फाल्न अझै अवरोध

SamacharDesk | २०७९ भाद्र १, बुधबार

उपत्यकाको महिनौंदेखि थुप्रिएको फोहोर फाल्न ल्याण्डफिल साइट बञ्चरेडाँडाका स्थानीयहरुले अवरोध गरेका छन् ।

डाँडामा जम्मा भएका स्थानीयले फोहोर लिएर गएका गाडीमाथि आक्रमण गर्ने धम्की दिएपछि गाडीहरु फोहोर नफाली रोकिएका छन् । २ सय भन्दा बढी गाडी फोहोर खन्याउन लाइनबद्ध छन् तर फाल्न नसकिएको प्रहरीले जनाएको छ ।

पटक पटक स्थानीय र सरकारसँग सम्झौता भए पनि हरेक पटक स्थानीयहरु नयाँ नयाँ माग थप्दै आन्दोलन गर्दै आएका छन् । स्थानीयलाई उचाल्न सत्ताधारीहरु नै रहेको मेयर बालेनले बताइसकेका छन् ।

सडक साँघुरो र बिग्रेका कारण सहज रुपमा आवागमन हुन सकेको छैन । सशस्त्र प्रहरी बेसक्याम्प बञ्चरेका नायव निरीक्षक युवराज रिजालले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी फोहोर फाल्ने तयारी भइरहेको बताउनु भएको छ ।

काठमाडौं महानगरिय प्रहरी परिसर काठमाडौंले पनि एसपी दिनेश मैनालीको नेतृत्वमा प्रहरी टोली पनि बञ्चरे डाँडा पठाएको छ । फोहोर विर्सजनमा अवरोध हटाउनका लागि हिजो काठमाडौंका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अवरोध हटाइदिन आग्रह गर्नुभएको छ ।

हिजो साँझ प्रधानमन्त्री देउवासँग भेटेका मेयर शाहले फोहोर लिएर गएका गाडी तोडफोड गर्ने गिरोहमाथि कारबाही गर्न र स्थानीयसँगको सहमति अनुसार सडक निर्माणको काम तत्काल गरिदिन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले तत्कालै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई फोन गरेर तोडफोडमा संलग्न किटानी उजुरी परेकाहरुलाई तत्काल पक्राउ गर्न निर्देशन दिनुभएको बुझिएको छ ।

यस्तै प्रधानमन्त्री देउवाले भौतिक पूर्वाधार मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई फोन गरेर अलपत्र सडक निर्माणलाई पूरा गर्न पनि निर्देशन दिनुभएको प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभएको छ ।

बञ्चरेडाँडास्थित ल्याण्डफिल साइटका राजनीतिकर्मीहरुका कारण फोहोर विसर्जनमा निरन्तर अवरोध हुँदै आएको छ । यसैबीच शहरी विकास मन्त्री मेटमणी चौधरीले काठमाडौको फोहोर स्थायी रुपमा समाधानको बाटोमा गएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आज गरेको पत्रकार सम्मेलनमा उहाँले काठमाडौ उपत्यकालाई सधै फोहोर बनाउने, झगडा गराउने एउटा शक्तिशाली गिरोह सक्रिय रहेको र उक्त गिरोहले विभिन्न नाममा महानगरबाट वर्षेनि फोहोरको नाममा अर्बौं रकम लैजाने गरेको आरोपसमेत लगाउनुभयो ।

उहाँले सो गिरोहसम्म सरकार पुगेकाले अब केही समयमै काठमाडौको फोहोर स्थायी रुपमै समाधान हुने बताउनुभयो ।

Categorized in राष्ट्रिय