arin enterprises

साहित्यकार कायस्थ सत्यमोहन जोशी पुरस्कारबाट पुरस्कृत

SamacharDesk – बिराज | २०८० माघ २१, आइतबार

यस वर्षको सत्यमोहन जोशी नेपालभाषा साहित्य पुरस्कार साहित्यकार छत्रबहादुर कायस्थलाई प्रदान गरिएको छ । शनिबार ललितपुरमा सम्पन्न नेपालभाषा मंकाः खलः ललितपुरको वार्षिक साधारण सभामा कायस्थलाई पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा वागमति प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले कायस्थलाई पुरस्कारको प्रमाण पत्र हस्तान्तरण गर्नुका साथै दोसल्ला ओढाउँदै पुरस्कृत गरे ।

कार्यक्रममा बोल्दै मन्त्री चित्रकारले स्थानीय भाषा, कला, साहित्यको संरक्षणमा प्रदेश सरकारले सक्दो सहयोग र सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै संघीय सांसद प्रेमबहादुर महर्जनले विगतको दमन र अत्याचारको विद्रोह स्वरुप नेपालभाषा मंकाः खलः जस्ता संस्थाको उदय भएको स्मरण गर्दै अब स्थानीय समाज र तीनै तहको सरकार सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए ।

नेवाः देय् दबूका उपाध्यक्ष उमेश स्थापितले सबै नेवाः संघसंस्था छुट्टिएर हैन, जुटेर अघि बढ्नुपर्नेमा जोड दिए ।

सभामा मंकाः खलः ललितपुरका सचिव महेन्द्रलाल महर्जनले वार्षिक कार्य प्रगति प्रतिवेदनको साथमा भावी योजना र कोषाध्यक्ष उकुलाल महर्जनले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

त्यस्तै अध्यक्ष हिराकाजी महर्जनले स्थानीय भाषा, कला, साहित्यको उत्थानको साथमा आफ्नो हक अधिकार प्राप्तिको लागि आवाज बुलन्द गर्न एउटै छाता मुनि आउन सबैलाई आह्वान गरेका थिए । 

Categorized in समाज