arin enterprises

१२ बर्षे खड्गसिद्धि जात्राको लागि सुपारी दाम चढाइयो

SamacharDesk – राम डंगोल | २०८० आषाढ २८, बिहिबार

पचली भैरव १२ बर्षे खड्गसिद्धि जात्राको लागि कामिका एकादशीको दिन अर्थात् आज काठमाडौंको मल्लकालीन दरवार हनुमाढोकामा सुपारी चढाइएको छ ।

ज्याबहालमा रहेको आगमघरबाट पचली भैरवको मूर्ति अंकित चाँदीको पुजा थालीमा १२ वटा ठूलो सुपारी र ६ वटा चाँदीको असर्फी सहित पुजा सामग्री सहित थकालि, देवगण, गुथियार खलकहरु बाजागाजा सहितको टोली नगर परिक्रमा गरी हनुमानढोका नासल चोक पुगेर सुपारी चढाइएको छ ।

हनुमानढोकामा तलेजुका पुजारीले साधना गरी राखिएको जात्रापर्वमा चलाउने खड्गमा गुथिका थकाली राम मालाकारले पुजाआजा गरी सुपारी दाम चढाइएको हो ।

१२ वर्षे जात्रा सुरु गर्नु पूर्व कामिका एकादशीको दिन राजालाई निमन्त्रणा स्वरुप सुपारी र पैसा राख्न जाने चलन रहेको छ । राजालाई सुपारी र पैसा राख्ने यो परम्परालाई स्थानीय नेपालभाषामा ‘ग्वय् दां तयेगु’ भनिन्छ । ग्वय्दां तयेगु प्रकृयासँगै जात्राको कार्यक्रमले औपचारिकता पाउँछ ।

ग्वय्दां राख्ने प्रकृया सम्पन्न भएसँगै जात्राको सुनिश्चितता भएको मानिन्छ । काठमाडौंको तल्लो भेगमा रहेको पचली भैरवको बर्षमा एक पटक घ्याम्पो जात्रा हुने गर्दछ ।

बडा दशैंको पञ्चमीको दिन हुने जात्रामा पचली भैरवको घ्याम्पो नगर परिक्रमा गराउने गर्दछ । यसैगरी बाह्र बर्षमा खड्गसिद्धि जात्रा हुने गर्दछ । अष्टमात्रिका, गणेश, पचली भैरव र सिंगिनी ब्यंगिनी गरी १२ जना देवगण हुने जात्रा कामिका एकादशिका दिन खड्गमा सुपारी दाम चढाएर सुरु हुने गर्दछ ।

विहीबार सुपारी दाम चढाउने कार्य सम्पन्न भएसँगै विधिवत रुपमा घण्टाकर्णका दिनदेखि नाच सिकाउन सुरु गरिन्छ । चार महिना औपचारिक रुपमा नाच सिकाइसकेपछि कार्तिक ७ गते बिजयादशमीका दिन काष्ठमण्डप अगाडीको मण्डपमा हनुमानढोकामा रहेको सांस्कृतिक खड्गसंग पचली भैरवले खड्ग सिद्धि गर्नेछ ।

नेपालमा चौंसाठी भैरव मध्ये स्वच्छन्द भैरव अर्थात पचली भैरव पनि एक हो । तन्त्रसिद्ध पचली भैरवसंग राष्ट्रप्रमुखले राज्यसत्ता संचालन गर्न बाह्र बर्षमा एकपटक खड्गसिद्धि गर्नु पर्दछ ।

राजतन्त्रकालमा राजालाई नै ग्वय्दां राख्ने गरिन्थ्यो भने दशैंको विजयादशमीको दिनमा पनि राजासँगै खड्गसिद्धि गर्ने चलन थियो । सोही प्रचलन अनुरुप वि।सं। २०५५ सालमा राजा विरेन्द्रले पचली भैरवसंग खड्गसिद्धि गरेको थियो ।

२०६२/६३ को जनआन्दोलन पछि नेपाल गणतन्त्रमा रुपान्तरण भएपछि यो परम्परा तुतेको छ । राजसंस्थाको अन्त्य पश्चात बाह्रबर्ष पछि वि।सं। २०६८ सालदेखि यसरी मल्लकालीन खड्गलाई ग्वय्दां राख्ने र त्यही खड्गसँग खड्गसिद्धि गर्रिदै आएको छ ।

यस वर्ष पनि ०६८ सालकै परम्परालाई निरन्तरता दिंदै हनुमानढोकामा रहेको खड्गसंग मात्र खड्गसिद्धि गर्ने भएको छ ।

Categorized in संस्कृति