आज पनि किजापूजा गरिँदै
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २, मंगलबार

विभिन्न स्थानमा नेवारहरुको आज पनि किजापूजा (भाईटिका) गरिँदैछ । सुर्योदयको तिथि अनुसार पर्व मनाउने परम्परा रहेका नेवारहरुले आज भाईटिका गर्दैछन् ।
किजापूजा गर्दा तेलको मण्डप बनाई दिदीबहिनीहरुले आफ्ना दाजुभाईलाई टिका लगाइदिने गर्दछन् ।
किजापूजाको क्रममा दिदीबहिनीहरुले दाजुभाईलाई अण्डा सगुनको साथमा फल सगुन पनि दिने गर्दछन् । फल सगुनमा भोगटे, बिमिरोको साथमा विभिन्न फलफुल राख्ने गरिन्छ ।
पंचतत्वको शरीरमा सबै तत्व सन्तुलित रही कहिल्यै स्वास्थ्य समस्या नआओस् भन्ने कामनासहित पंचतत्वकै प्रतिकको रुपमा अण्डाको साथमा माछा, मासु, मासको वः (बारा) र मद्यसहितको अण्डा सगुन दिने गरिन्छ ।
किजापूजापछि दाजुभाईले दिदीबहिनीहरुलाई दक्षिणाको साथमा विभिन्न उपहारहरु दिने गरिन्छ ।
किजापूजासँग जोडिएको किम्वदन्ति
किजापूजामा मण्डपको साथमा विमिरो, मखमली फुल, ओखर अनिवार्य मानिन्छ । भाईटिका वा किजापूजा गर्दा यमराजको साथमा यमराजकी दिदी यमुना, चित्रगुप्त र अष्टचिरंजीविको समेत पूजा गर्ने गरिन्छ ।
किजापूजाको सन्दर्भमा नेवार समाजमा यमराजसँग जोडिएको एउटा रमाइलो किम्वदन्ति प्रचलित छ ।
किम्वदन्ति अनुसार विरामी भाईलाई लिन आएका यमराजसँग दिदीले किजापूजा गर्ने अनुमति माग्छिन् र दिदीले किजापूजा गर्छिन् ।
किजापूजाको विधि देखेर खुसी भएका यमराजले दिदीसँग वरदान माग्नलाई भन्दा दिदीले विमिरो जुठो नभएसम्म, ओखर नकुहिएसम्म, तेलको मण्डप नसुकेसम्म र मखमली फुल नओइलाएसम्म आफ्नो भाइ जिउँदा रहोस् भनेर वरदान माग्छिन् ।
पवित्र फल विमिरो कहिल्यै जुठो नहुन, ओखर कहिल्यै नकुहिने, तेलको मण्डप कहिल्यै नसुक्ने र मखमली फुल कहिल्यै नओइलाउने भएपछि यमराजले भाईलाई दीर्घायूको आशिर्वाद दिएर छोडेर गए ।
यहि बेलाबाट किजापूजा गर्न थालिएको विश्वास नेवार समाजमा छ ।
बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला
लाग्दो तिथिमा पर्व मनाउने परम्परा रहेकाहरुले भने हिजै भाईटिका सम्पन्न गरिसके ।
यहि क्रममा रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि सर्वसाधारणको लागि खुल्ला राखिएको छ ।
भाईटिकाको दिनमा मात्र खुल्ला रहने बालगोपालेश्वर मन्दिर हिजो लाग्दो तिथि अनुसारको भाईटिकामा खुल्ला रहेको थियो भने आज किजापूजाको दिन पनि सर्वसाधारणको लागि खुल्ला राखिएको छ ।
२०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षति भएको बालगोपालेश्वरको मन्दिरको पुनर्निर्माण सम्पन्न भई गत कार्तिक ५ गते मात्रै उद्घाटन भएको थियो ।
भुकम्प पश्चात ५ वर्षपछि बालगोपालेश्वर मन्दिर सर्वसाधारणको लागि खुलेको हो ।
Categorized in संस्कृति