arin enterprises

काठमाडौँ महानगरपालिकाकाे शैक्षिक मेला सुरु

SamacharDesk – बिराज | २०८१ फाल्गुण १६, शुक्रबार

काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभागृहमा काठमाडौँ शैक्षिक मेला सुरु गरेको छ ।

विद्यालयहरुमा शैक्षिक नतिजा सुधारका लागि थालेका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव, यसबाट उनीहरुले सिकेको ज्ञान, सीपहरुको प्रस्तुति र प्रदर्शनीका लागि मेला आयोजना गरिएको महानगरपालिकाले जनाएको छ ।

मेला उद्घाटन गर्दै महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, बालमैत्री शिक्षण सिकाइबाट असल र सफल नागरिक उत्पादनमा महानगरपालिकाको जोड रहेको बताइन् ।

सामुदायिक विद्यालयबाट थालिएको शैक्षिक सुधारका कार्यक्रमअन्तर्गत यस पटक संस्थागत विद्यालयलाई पनि जोडिएको उपप्रमुख डंगोलले बताइन् ।

शैक्षिक सत्रको अन्त्यमा सैद्धान्तिक विषयको लिखित परीक्षा भएजस्तै व्यवहारिक र प्रयोगात्मक कक्षाहरुको नतिजा मापन औजारका रुपमा मेलालाई लिइएको छ ।

मेलामा शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरुको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिएको छ ।

मेलामा विद्यार्थीहरुले नृत्य, अभिनय, नाट्य, संवादका माध्यमबाट नवीनतम सिकाइ गतिविधि प्रदर्शन गरेका थिए ।

बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शित गरिएको छ । विद्यार्थी नमूना संसद अभ्यास मेलाको महत्वपूर्ण आकर्षणको रुपमा लिइएको छ ।

आज (शुक्रबार) बाट सुरु भएको मेला भोलिसम्म चल्ने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

Categorized in स्थानीय