काठमाडौँ महानगरपालिबाट ए डिभिजन क्लबलाई ६० लाख सहयोग
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ २३, मंगलबार

काठमाडौँ महानरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।
राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौं महानगर भित्रका ६ वटा क्लवलाई प्रति क्लव रु १० लाख सहयोग हस्तान्तरण गर्नुभएको हो ।
महानगरपालिकाबाट आर्थिक सहयोग पाउने क्लबहरु क्रमशः मछिन्द्र क्लब, सरस्वती युवा क्लव, हिमालयन शेर्पा क्लब, काठमाडौँ खेल मण्डल (एनआरटी), संकटा क्लब र मनाङ मस्र्यादी क्लब रहेका छन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख शाक्यले खेलकुद विकास तथा प्रर्वद्धनका लागि सहयोग रकम हस्तान्तरण गरेको जानकारी दिनुभयो । प्रमुख शाक्यले खेलाडीको दैनिकी, व्यायाम र खेलकुदको विकासका लागि खेलकुदलाई सहरी जीवन पद्धति बनाउन महानगरले खेलकुदमा क्रमशः लगानी बढाउँदै लैजाने नीति लिएको पनि जानकारी दिनुभयो ।
उहाँले आगामी दिनमा पनि खेलकुद क्षेत्रको विकासका लागि सहकार्य गरेर अघि बढ्न तयार रहेको जानकारी दिनुभयो ।
‘आगामी दिनमा सहकार्यलाई थप बलियो बनाउँदै हामी तपाईँहरुलाई थप सहयोग गर्न चाहन्छौँ’ प्रमुख शाक्यले भन्नुभयो । ‘तपाईँहरुले पनि खेलकुदको माध्ययमबाट महानगरपालिका र समग्र देशको पहिचान बढाउने कुरामा निरन्तर ध्यान दिनुहोला ।’
प्रमुख शाक्यले महानगरपालिका क्षेत्र भित्र रहेका ए डिभिजनलाई रु १०, वि लाई रु तीन लाख र सीलाई रु २ लाखका दरले सहयोग गर्दै आएको जानकारी दिनुभयो ।
काठमाठौँ महानगरपालिकाले गत वर्ष पनि ए, वि र सि डिभिजन क्लवलाई आर्थिक सहयोग गरेको थियो ।
कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ)ले पनि काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको बताउनुभयो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले काठमाडौँ महानगरपालिकाले खेल क्षेत्रको विकासका लागि नयाँ कामको थालनी गरेको भन्दै प्रशंसा गर्नुभयो ।
अहिले काठमाडौँ उपत्यकामा घना बस्तीका कारण फुटवल मैदानहरु लोप हुँदै गएको अवस्थामा खेल अभ्यासका लागि महानगरपालिकासँग सहकार्य अघि बढाउने कुरामा पनि छलफल गर्दै आएको शेर्पाले जानकारी गराउनुभयो ।
उहाँले सुरुमा टुँडिखेललाई खेल अभ्यासका लागि प्रयोग गर्ने विषयमा छलफल भएको भन्दै पछि धरहरा निर्माणको काम अघि बढाउँदा त्यहाँका निर्माण सामाग्री राख्नु पर्ने भएकाले तत्कालका लागि व्यवस्थित गर्न सम्भव नभएको बताउनु भयो ।
मछिन्द्र क्लबका अध्यक्ष प्रवोधविर सिंह कंसाकारले काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि खेल विकासमा सहयोग गर्ने परम्पराको थालनी भएको धारणा राख्नुभयो ।
‘यो नेतृत्वले खेल क्षेत्रलाई बुझेको अनुभूति हामीले गरेका छौँ’ अध्यक्ष कंसाकारले भन्नुभयो ‘फुटवल मात्रै होइन समग्र खेलकुदको क्षेत्रमा महानगरपालिकाले सहयोग गरेको हामीले बुझेका छौँ । यो सकारात्मक छ ।’
उहाँले आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, प्रवक्ता ईश्वरमान डंगोल, सहचिव राजेश्वर ज्ञवाली, सामाजिक विकास विभागका प्रमुख सनतकुमार थापालगायतको उपस्थिति रहेको थियो ।
Categorized in स्पाेर्ट्स