खुलामञ्च खुला गर्दै काठमाडौँ महानगर
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ २८, बुधबार

काठमाडौँ महानगरपालिकाले खुलामञ्चलाई खुला गर्ने पहल थालेको छ । हाल खुलामञ्चमा थुपारिएको दरबार हाइस्कुल र वीर अस्पतालको निर्माण सामग्री हटाइ काठमाडौं महानगरले खुलामञ्चलाई खुला गर्न लागेको हो ।
दरवार हाइस्कूलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको पनि निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै काठमाडौँ महानगरपालिकाले ती संरचना निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाउन पहल सुरु गरेको हो ।
महानगर प्रमुख विद्या सुन्दर शाक्यको निर्देशन अनुसार अहिले दरबार हाइस्कुल र वीर अस्पताल प्रशासनसँग निरन्तर छलफल गरिरहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताउनुभयो ।
‘कोभिड–१९ को कहरलगायतका कारण संरचना निर्माणमा केही ढिलाई भएकाले खुलामञ्चमा राखिएका निर्माण सामग्री हटाउन केही ढिलाई भएको हो, अब हामी छिट्टै खुलामञ्च खुला गर्छौ’ ज्ञवालीले भन्नुभयो ।
भ्यू टावर निर्माणका लागि खुलामञ्चभित्र अस्थायी रुपमा सरेको पुरानो बसपार्कलाई पनि उचित व्यवस्थापन गर्ने ज्ञवालीको भनाई छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपलकुलपति टीएन शाहले पनि ठेकेदार कम्पनीले दिएको प्रतिवेदन अनुसार वीर अस्पताल निर्माणको ९० प्रतिशत बढी काम सम्पन्न भएको भन्दै सक्दो छिटो खुलामञ्च खुला गर्न पहल गर्ने बताउनुभयो ।
बाँकी निर्माण कार्यका लागि निर्माण सामग्री निर्माणाधिन अस्पताल भित्रै राखेर गर्न सकिने भए त्यसमा पहल गर्ने प्रतिवद्धता पनि उपकुलपति शाहले व्यक्त गर्नुभयो ।
वीर अस्पतालका निर्देशक केदार सेन्चुरीले पनि खुलामञ्चमा थुपारेका निर्माण सामग्री हटाउन सकारात्मक रहेको जानकारी दिनुभयो ।
‘निर्माणको काम अझै केही बाँकी रहेको र अझै कामदार त्यहाँ बसिरहेकाले केही समस्या भएको छ,’ उहाँले भन्नुभयो, ‘पार्किङ क्षेत्र हामी एक हप्ता भित्रै खाली गर्न तयार छौँ ।’
पछिल्लो समय राजनीतिक दलहरुले सभा गर्ने स्थानको अभावमा सडकमै मञ्च बनाएर कार्यक्रम गर्न थालेको र यसले महानगरको ट्राफिक व्यवस्थापनमा समस्या पैदा भएको तर्फपनि महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको महानगरपालिकाले जनाएको छ ।
Categorized in स्थानीय