arin enterprises

काठमाडौँ महानगरले सुलभ औषधि पसल खोल्ने

SamacharDesk – बिराज | २०८२ बैशाख १, सोमबार

काठमाडौँ महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्ने भएको छ । यसका लागि विक्री गरिने औषधिको प्रकार र मात्राबारे अध्ययन गरिने महानगरले जनाएको छ ।

बिहीबार बसेको सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले बबरमहलमा सुलभ फार्मेसी सञ्चालन गर्ने निर्णय गरेको हो । बबरमहलस्थित हाल वडा कार्यालय रहेको भवनमा फार्मेसी संचालन गर्ने निर्णय बैठकले गरेको हो ।

बैठकले केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थानको उपलब्धताबारे पनि छलफल गरेको छ ।

आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निःशुल्क, स्वास्थ्य बिमाका औषधि, बिमामा आवद्ध नभएका नागरिकका लागि सर्वसुलभ औषधि र औषधिजन्य सामग्री जेनेरिक फार्मेसीको अभ्यास अनुसार उपलब्ध गराउन सुलभ फार्मेसी सञ्चालन गर्न लागिएको उपप्रमुख सुनिता डंगोलले बताइन् ।

‘औषधिको उत्पादकदेखि उपभोक्तासम्म बिचौलियाका कारण मूल्य चर्को भएको गुनासो बढेपछि सुलभ फार्मेसी सञ्चालन गर्न लागेका हौं । यसबाट सर्वसाधारणलाईस्वास्थ्य सेवामा ठूलो राहत मिल्ने विश्वास छ’ कामपा उपप्रमुख सुनिता डंगोलले भनिन् ।

उपप्रमुख डंगोलको संयोजकत्वमा फार्मेसी सञ्चालन तथा व्यवस्थापनका लागि ४ सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञ सदस्य तथा स्वास्थ्य विभाग प्रमुख सदस्य सचिव छन् ।

बैठकमा नार्कोटिक, एन्टिबायोटिक, हर्मोनिक जस्ता डाक्टरको प्रेस्क्रिप्सनबाट मात्र दिन मिल्ने र ओटिसी (ओभर द काउन्टर) औषधिको सम्भावित मागबारे छलफल भएको थियो ।

शिक्षा तथा स्वास्थ्य समिति संयोजक चिनीकाजी महर्जनले महानगरको जनघनत्व र भूगोललाई ध्यानमा राखेर थप ५ स्थानमा सुलभ फार्मेसी खोल्ने योजना रहेको बताए ।

‘हाललाई यो नमूना कार्यक्रम हो । यसबाट प्राप्त अनुभवका आधारमा थप स्थानमा सुधार गर्दै विस्तार गर्ने योजना छ’ वडाध्यक्ष महर्जनले भने ।

सुलभ फार्मेसीबाट चिकित्सकको प्रभावमा परी स्वार्थ प्रेरित औषधि दिने क्रम रोकिनुका साथै औषधिको गुणस्तर र मूल्य सुनिश्चित हुने महानगरको दाबी छ ।

Categorized in स्थानीय