arin enterprises

काठमाडौं महानगर सञ्जालसहितको आइसोलेसन सञ्चालन गर्दै

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २३, बिहिबार

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले टोलपिच्छे आइसोलेसन सेन्टर चलाउनुभन्दा ठूला अस्पतालको क्षमता विकास गरेर कोभिड विरामीको उपचार सहज बनाउनुपर्ने विचार राख्नुभएको छ ।

आज राष्ट्रिय सभा गृहमा बसेको कोभिड अस्पताल व्यवस्थापन सिफारिस समितिको बैठकमा प्रमुख शाक्यले महानगरले ठूला र सामुदायिक अस्पतालसँग सहकार्य गर्दै उपचारलाई सहजमा प्रयासमा जुटेको बताउनुभयो ।

सो अवसरमा शाक्यले आइसोलेसन सेन्टरसँग विरामीलाई खाना खुवाउने, औषधोपचार गर्ने र आवश्यकता आधारमा थप उपचार गर्न सक्ने क्षमता हुनुपर्नेमा होडमा आइसोलेसन सेन्टर सञ्चालन गर्न नहुने विचार राख्नुभयो ।

‘महानगरले त्रि. वि. शिक्षण अस्पताल, वीर अस्पताल, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका अस्पतालको क्षमता बढाउन लगानी गर्दैछ’ शाक्यले भन्नुभयो, ‘राधा स्वामी सत्सङ्ग भवन, सामाखुशीमा १ सय ८० देखि २ सय जनासम्म विरामीलाई राख्न मिल्ने अक्सिजन थेरापीसहितको आइसोसन केन्द्र सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ ।’

ठूला अस्पतालमा भएका अक्सिजन मात्र दिए पुग्ने विरामीलाई सामाखुसिमा ल्याएर राख्ने संयन्त्र मिलाउने उहाँले जानकारी दिनुभयो ।

‘ठूला अस्पतालको क्षमता बढाउनु नै अहिलेका लागि उत्तम विकल्प हो, ठाउँ ठाउँमा आइसोलेसन बनाउँदा भोलि अर्को जोखिम आउन सक्छ’ बैठकमा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले भन्नुभयो ।

आइसोलेसन केन्द्रमा आउँदा विरामीले उपचारका लागि ढुक्क हुन सक्ने वातावरण बनाउनुपर्ने धारणा उपप्रमुख खड्गीले राख्नुभयो ।

जथाभावी आइसोलेसन केन्द्र स्थापना गर्दा विरामीमाथि समस्या बढ्न सक्नेप्रति सजग हुन बैठकले जोड दिएको थियो ।

Categorized in स्थानीय