दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड विछ्याउँदै महानगर
SamacharDesk – बिराज | २०८१ माघ २९, मंगलबार

दरबारमार्गको पैदल मार्गमा ग्रेनाइड विछ्याउने कामको काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले निरिक्षण गरेकी छन् ।
महानगर उपप्रमुख साथै अनुगमन समितिकी संयोजक डंगोलले सोमबार दरवारमार्गमा ग्रेनाइड सेटिङको निरीक्षण गरेकी हुन् ।
सो अवसरमा उपप्रमुख डंगोलले पैदल मार्ग पैदल यात्रु मैत्री हुनुपर्ने बताउँदै सडकमा भएका रुखहरुको संरक्षणका विषयमा अधिकारीहरुसँग जिज्ञासा राखेकी थिइन् ।
नारायणहिटी संग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइड लगाइँदैछ ।
सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्यका अनुसार पैदल मार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ ।
निरिक्षणको क्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले ग्रेनाइडको बाहिरी भाग खस्रो भएकोले यात्रामा चिप्लिने जोखिम नहुने बताए ।
उक्त ग्रेनाइट एक पीसकै ९ हजार रुपैयाँ पर्ने बताइएको छ । काठमाडौं महानगरले दरवारमार्गमा ५ करोड १५ लाखको लागतमा ग्रेनाइट विछ्याउन लागेको भनिएको छ ।
सार्वजनिक खरिद प्रक्रियाबाट सदाशिव इन्फ्रा प्रा. लि. ले दरवारमार्गमा ग्रेनाइट विछ्याने काम गरिरहेको छ । योजनाको अवधि यही माघ मसान्तसम्म हो ।
Categorized in स्थानीय