श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
SamacharDesk | २०८१ भाद्र १०, सोमबार

श्रीकृष्णजन्माष्टमी पर्व ।
भाद्र कृष्ण अष्टमीका दिन भगवान विष्णुको आठौं अवतारको रुपमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज देश तथा विदेशमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक श्रीकृष्णजन्माष्टमी पर्व मनाइरहेको छ ।
भाद्र कृष्ण अष्टमीको मध्यरात विष्णु भगवान कृष्णको रुपमा जन्मिएको पुराणहरूमा उल्लेख छ । यसर्थ आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र रातलाई मोहरात्रि भन्ने गरिन्छ ।
श्रीकृष्णजन्माष्टमीको अवसरमा आज पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लागेको छ ।
यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, बूढानीलकण्ठमा रहेको अन्तर्राष्ट्रिय श्रीकृष्ण भावनामृत संघको कार्यालयमा रहेको श्रीकृष्ण मन्दिर, बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरका साथै विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।
आजको दिन काठमाडौँका विभिन्न धार्मिक संघसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । शोभायात्रा आज मध्यरातमा श्रीकृष्णको जन्म भएपछि भोलि मङ्गलबार निकालिन्छ ।
पृथ्वीलोकमा अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानवको रक्षा गर्नका लागि नै भगवान् विष्णुले कृष्णको रुपमा जन्म लिएको र श्रीकृष्णले सत्यको पक्षमा रहेर सत्कर्म गर्नका लागि मानवलाई प्रेरित गरेको धार्मिक मान्यता छ ।
श्रीकृष्णका माता पितालाई कंशले कृष्ण जन्मिनु अघि कालकोठरीमा राखेका थिए । सोही कालकोठरीमा श्रीकृष्ण भगवानको जन्म भएको थियो । कृष्णको बाल्यकाल बितेको मथुरामा उनले बाललीला देखाएका थिए भने महाभारत युद्धअघि अर्जुनलाई गीताज्ञान गराएका थिए ।
श्रीकृष्णले कंश र उनलाई सहयोग गर्ने शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना जरासन्ध र शिशुपाल लगायतको संहार गरि शान्ति स्थापना गरेको पुराणमा उल्लेख छ । मानिसको कर्मअनुसार नै उसले फल प्राप्त गर्छ भन्ने श्रीकृष्णको मूल मन्त्र हो ।
कुरुक्षेत्रमा कौरवसँगको युद्धमा पाण्डव समूहका अर्जुनलाई उपदेश दिँदा भगवान् श्रीकृष्णले मौखिक रुपमा व्यक्त गरेका बोली नै श्रीमद्भागवतगीता पवित्र ग्रन्थ हो ।
यस ग्रन्थलाई गीता पनि भन्ने गरिन्छ भने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।
Categorized in संस्कृति