arin enterprises

यमपञ्चकको दोश्रो दिन, कुकुर पूजा गरिँदै

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० कार्तिक २६, आइतबार

आज कार्तिक कृष्ण चतुर्दशी, यमपञ्चकको क्रममा सबैले कुकुर पूजा गर्दैछन् ।

यमराज दुतको रुपमा आजको दिन कुकुरलाई टिका र घाँटीमा फुलमाला लगाइदिएर पूजा गरिन्छ । त्यस्तै कुकुरलाई प्रिय मासु, दूध, अण्डा आदिको साथमा मिठो मिठो खानेकुरा खुवाइन्छ ।

धार्मिक मान्यता अनुसार कुकुरलाई भैरवको बाहन मानिन्छ । पंच पाण्डव जिउँदै स्वर्ग जाँदा पनि पाण्डवहरुको मार्गदर्शन गर्दै कुकुर पनि सँगै स्वर्ग गएको किम्वदन्ति रहिआएको छ ।

कुकुरलाई सबैभन्दा इमान्दार, वफादार प्राणीको रुपमा लिइन्छ । आज्ञापालक एवम् रक्षकको रूपमा कुकुरलाई घरघरमा पाल्ने गरिन्छ ।

विभिन्न अपराध, अपराधी पत्ता लगाउने, शंकास्पद वस्तु खोज्नको साथै अध्ययन–अनुसन्धानको काममा समेत कुकुरको प्रयोग गर्ने गरिन्छ । कुकुरको यस्तै गुणहरुको सम्मान स्वरुप आजको दिन कुकुरलाई पूजा गर्ने गरिएको छ ।

आजै लक्ष्मीपूजा गरिँदै

आज बेलुकीबाट कार्तिक कृष्ण औंशी तिथि लाग्ने हुनाले तिथि नै आवश्यक हुनेहरुले आज बेलुकी लक्ष्मीपूजा गर्दैछन् ।

लक्ष्मीपूजा बेलुकी नै गर्ने भएकोले आज बेलुकीबाट औंशी तिथि पर्न आउने हुँदा तिथि मान्नेहरुले आज लक्ष्मीपूजा गर्न लागेका हुन् ।

सुर्योदयको तिथिलाई नै दिनभरी मान्नेहरुले भने भोलि मात्रै लक्ष्मीपूजा गर्दैछन् । लाग्दो तिथि छोड्दो व्रत मान्यता अनुसार सुर्योदयकै तिथिलाई दिनभरी मानेर पर्व मान्ने पनि गरिन्छ । 

Categorized in संस्कृति