कुंछा/कुन्छालः गोपालवंशको एक जीवित इतिहास
SamacharDesk – राजीव किलंनं श्रेष्ठ | २०७९ मङ्सिर १२, सोमबार

सय हजार होइन, हजारौं वर्षको प्राचीन इतिहास बोकेको नेपालको एक ऐतिहासिक, प्राचीन गाउँ हो कुन्छाल ।
नेपालको ईतिहासको अध्ययन गर्दा यहाँको पहिलो शासकको रुपमा गोपालवंशीहरुलाई भनिएको छ । गाईपालन गर्दै आएको समुदाय गोपालवंशीहरुले यहाँ नेपाल खाल्डोमा पहिलो पटक शासन गरेको भनिएको छ । गोपालवंशीय इतिहासमा नेपालको पहिलो ऐतिहासिक समुदायका रुपमा ग्वाला समुदायलाई देखाइएको छ । त्यहि ग्वाला समुदाय वा गोपालवंशीहरुको ५०५ वर्षसम्मको केन्द्रीय शासन पश्चात अन्य वंशीय शासकहरुबाट बिस्थापित हुनु परेको थियो ।
गोपालवंशपछि यहाँ महिषपाल वंशले शासन गरेको बताइन्छ । यो विषयमा ईतिहासविद्हरु बीचमै फरक विचार रहेको देखिन्छ । केहीले महिषपाल वंशलाई गोपालवंश भन्दा फरक वंशको रुपमा व्याख्या गरेका छन् भने केहीले गोपालवंशी गाइपालकहरु र महिषपालवंशी मेष वा राँगा पाल्नेहरु भएको र यी दुवै एउटै वंशको भएको बताएका छन् । त्यसपछि भने किराँतहरुको शासन सुरु भएको हो ।
जे होस्, समयको चक्रसँगै गोपालवंशको शासन अन्त्य भयो र गोपालवंश शासकिय भूमिकाबाट विस्थापित भएपछि केहि परिवार केन्द्रमा नै बसे भने केहि परिवार उपत्यका वरपरका क्षेत्रतिर छरिएर बस्न पुगेको इतिहास छ । उपत्यका पारी पुगेका प्राय गोपालीहरु चन्द्रागिरीको डाँडा पछाडी बस्न गएको बताइन्छ । चन्द्रागिरी डाँडा पछाडी टिस्टुंग, पालुङ्ग, चित्लाङ्ग, शेरे, काल्तु, पापुंग आदि बस्तीहरु छन् ।
कुन्छाल गाउँको भौगोलिक जानकारीः
नेपालको पहिलो त्रिभुवन राजपथसँगै जोडिएको यो बस्ती राजधानी काठमाडौंबाट नौविसे हुँदै त्रिभुवन राजपथको बाटोबाट ६० कि.मी. टाढा रहेको छ । त्यस्तै नयाँ खोलिएको थानकोट चित्लाङ कच्ची बाटो हुँदै त मात्र ३० किलोमिटर पार गर्दै कुन्छाल पुग्न सकिन्छ । फर्पिङ्ग फाखेल मार्खु हुँदै जाने हो ५५ किलोमिटरको दुरीमा यो स्थान रहेको छ ।
कुन्छालको स्थानीय नाम भने कुंछा हो । लिच्छविकालीन राजा अंशुवर्माकोसमेत शिलालेख रहेको भनिएको यस वस्तीको तथ्यगत इतिहास भने केही ३०० वर्ष पुरानो देखिन्छ ।
यहाँका अन्य गाउँहरुमा नेवाः समुदाय भित्रका मिश्रित जातहरुको बसाई रहेको देखिएता पनि कुन्छाल गाउँमा भने केवल ग्वाला समुदाय यानेकि हालका गोपाली भन्न रुचाउने गोपालवंशीहरुको मात्र बसाई रहेको छ । गोपाली गाउँकै नामबाट समेत परिचित रहेको यस वस्तीलाई हेर्दा नेपालको प्राचीन इतिहासका केहि डोबहरु अझ यहाँ बाँकी रहेको अनुभव गर्न सकिन्छ ।
झट्ट हेर्दा युरोपका स्विटजरल्याण्ड र ईटलीतिर देखिने गाउँ भन्दा कम देखिँदैनन् यहाँको हरियाली बीच बसेको वस्ती । नेपालको मकवानपुर जिल्ला थाहा नगरपालिका भित्र पर्ने ऐतिहासिक, प्राचीन तथा साँस्कृतिक महत्व बोकेको यो वस्तीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने ठुलो सम्भावना छ ।
नेपालकै पुरानो र मौलिक सभ्यता बोकेको गोपालीहरुको वस्ती कुन्छाल गाउँमा धेरै अनौठा प्रचलनहरु पनि रहेका छन ।
भाषाको सवालमाः
यहाँको मुख्य भाषा भने स्थानीय नेपालभाषा (नेवाः भाय्) हो ।
नेपालभाषा बोल्ने गरेता पनि काठमाडौंमा बोलिने भाषा भन्दा यहाँका शब्दहरु, लवज आदिमा धेरै हदसम्म भिन्नता रहेको पाइन्छ । यहाँ बोलिने भाषालाई प्राचीन नेपालमण्डल भित्र बोलिने नेपालभाषाको निरन्तरताको अंशको रुपमा लिइएको छ । नेपालभाषाको इतिहास, मौलिकता आदि अध्ययन गर्न आधारहरु यहाँका भाषामा हुन् सक्छ ।
जात्रापर्वहरुः
यहाँ हरेक १२ वर्षमा एक पटक देवी नाच नचाइन्छ । यसलाई बाराही देवी नाच भनिन्छ ।
यस नाचको सम्बन्ध काठमाडौंको केन्द्र हनुमानढोका दरवारसँग रहेको छ । यस नाचलाई हनुमानढोका दरवारको डवलीमा देखाईने चलन पनि रहेको छ ।
यस क्षेत्रको मुख्य जात्रा भने बैशाख पुर्णिमाका दिन हुन्छ । यहाँका तीन गाउँहरु बीच आलो पालो गरि जात्रा मनाउने चलन रहेको छ । त्यसैले यहाँका हरेक गाउँको पालो ३ वर्षको एक पटक मात्र आउने गर्दछ ।
यो वस्तीमा एक अनौठो चलन छ । यहाँ कुखुरा पाल्न वा कुखुरा जन्य खाना खान निषेध छ । कुखुरालाई अपवित्र मान्ने यहाँको पुरानो प्रचलन हो ।
अन्तिममाः
अहिले यहाँ नयाँ बन्न थालिएका ढलान घरहरु, पिच बाटो, घर बाहिर निर्मित अशोभनिय शौचालयहरु आदिले बिस्तारै यहाँको सुन्दरता र बिनास हुने क्रममा भने रहेको छ ।
एउटा जीवित संग्रहालयको रुपमा विकास गर्दै यहाँको ऐतिहासिक स्वरुपलाई नै निरन्तरता दिने हो भने पर्यटकको ठुलै घुईँचो यहाँ लाग्न सक्छ र यहाँको मौलिक स्वरुप, परम्परागत पेशा नै यहाँको स्थानीयको समृद्धिको आधार बन्न सक्छ ।
यस क्षेत्रलाई यहाँका जनप्रतिनिधि, स्थानीय, प्रदेश र संघीय सरकारले उचित संरक्षण प्रदान गर्ने हो भने नेपालको एउटा महत्वपुर्ण इतिहास बचाई राख्न सकिन्छ ।
