कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन मनाईंदै
SamacharDesk | २०८१ भाद्र १७, सोमबार
कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन ।
भाद्र कृष्ण औँसीका दिन आज छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुवालाई मन पर्ने मिठाई तथा भोजन खुवाई उपहार दिएर आदर सम्मान प्रकट गर्ने र बुवाको मुख हेर्ने गर्दछन् ।
बुवा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश आज घर–घरमा भित्र्याँउँछन् ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
आजका दिन उखेलिएको कुश वर्षभरी प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ ।
सनातन धर्मावलम्वीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ ।
यस अवसरमा आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ ।
यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढि फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ ।
दान कुपात्रमा परे दिने र लिने दुबै नरक जाने शास्त्रीय भनाइ छ । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।
Categorized in संस्कृति